Aamsanchar

भारतीय पर्यटक आकर्षित गर्दै इलाम

Author Image
बुधवार, कार्तिक १४, २०८१

इलाम- मनसुन सकिएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् । इलामको कन्याम, अन्तु हुँदै इलाम भएर पर्यटकीय स्थल सन्दकपुरसम्म जाने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । इलाम हुँदै सन्दकपुर कालपोखरी, तुम्लिङ, मेघ्मा, मानेभन्ज्याङ, पशुपतिनगरसम्मको क्षेत्रलाई भारतीय पर्यटकले निकै रुचाउने गरेको पाइन्छ ।

दार्जिलिङ घुम्न जाने र त्यहाँबाट फर्कंदा सीमावर्ती बजार पशुपतिनगर निस्कने भारत पश्चिम बङ्गालका पर्यटकको सङ्ख्या पनि राम्रै रहेको पशुपतिनगरस्थित पर्यटन सूचना केन्द्रले जनाएको छ । यता आफ्नै मोटरसाइकल लिएर इलाम आइपुगेका ३८ भारतीय पर्यटकलाई नेपालकै बाटो हुँदै सन्दकपुर पुर्याएर बिदाइ गरेको इलामस्थित पुर्बेली जिप तथा ट्याक्सी व्यवसायी प्रालिका अध्यक्ष गृष्म सुुब्बाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले इलामबाट पर्यटकीय स्थल माईपोखरी हुँदै सन्दकपुर जाने सडक राम्रो भएको छ । कच्ची सडक भए पनि यात्रा सहज छ ।” सुब्बाले भन्नुभयो, “यही सडक भएर मोटरसाइकलमार्फत ती पर्यटकलाई सन्दकपुर पुर्याएर बिदा गरियो । अरू भारतीय नागरिक पनि इलामको बाटो भएर सन्दकपुरको यात्रा गर्न सम्पर्कमा आएका छन् ।”

यसरी सन्दकपुरतर्फको यात्रामा जाने पर्यटकलाई इलामको बिल्याँटेमा रहेको जरबिरे चिया उद्योगको बिक्री केन्द्रले निःशुल्क चिया खुवाएर स्वागत तथा बिदाइ गर्ने गरेको छ । इलामकै अग्लो अर्थात् ३६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट भने कञ्चनजङ्घा, कुम्भकर्णलगायतका हिमाल नजिकैबाट अवलोकन गर्न सकिन्छ भने बङ्गलादेशसम्मको तराईको समथर भूभाग अवलोकन गरेर आनन्द लिन सकिन्छ । यस्तै पर्यटकीय क्षेत्र सन्दकपुरमा सूर्योदयको दृश्यावलोकन, चौँरी गाई, भेडापालनसहित स्थानीय रहनसहन, रेडपान्डाको वासस्थानको अध्ययन अवलोकन गर्न सकिन्छ ।

उता पर्यटकको रोजाइमा पर्ने अन्तुमा पनि यति बेला पर्यटकको निकै भिड बढेको छ । राम्रोसँग मौसम नखुले पनि अन्तु आएर रमाउने पर्यटकको सङ्ख्या भने धेरै रहेको अन्तुस्थित सूर्योदय नगरपालिकाको टिकट काउन्टरका कर्मचारी दिपेन पुलामीमगरले बताउनुभयो ।

दसैँ, तिहार र छठका लागि विद्यालय एकै पटक बिदा रहेकाले लामो बिदामा विद्यार्थी बढी आउने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष पनि दैनिक आउने पर्यटकको सङ्ख्या निकै बढेको छ । यहाँका घरबास, होटेल र कटेजहरू बुकिङ भइरहेका छन् ।” भारतीय पर्यटकले पनि अन्तुलाई आफ्नो राम्रो घुम्ने गन्तव्यका रूपमा राख्ने गरेको उहाँले बताउनुभयो ।

अहिले दैनिक पाँच सयदेखि एक हजारको हाराहारीका पर्यटकले अन्तुमा रात बिताउने गरेका छन् । अन्तुमा यो वर्ष भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, कलकत्ता, गुवाहाटी, आसामबाट भारतीय सवारीसहित आउने पर्यटक ठुलो सङ्ख्यामा आएका छन् । झापाको काँकडभिट्टा हुँदै नेपाल भित्रिएका पर्यटक कन्याम, अन्तु घुम्दै पाथीभरा देवीको दर्शन गरेर पशुपतिनगर हुँदै फर्कने गरेका अध्यक्ष घिमिरेले बताउनुभयो ।

तराईबाट आउने पर्यटकलाई चिया टिपाइ र सूर्योदयको दृश्यले आनन्द दिने गरेको छ । अन्तु पोखरीमा डुङ्गा सवार पनि अर्को आकर्षण छ । त्यसो त चियाबारीका बिचमा निर्माण भएका कटेज, यहाँ सञ्चालित राम्रै किसिमका होटेल र स्थानीय जनजीवनको रहनसहन बुझ्न चाहने पर्यटकलाई होमस्टेको बासले बढी तान्ने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर