Aamsanchar

संगतले गर्दा माओवादी पनि अलिअलि भेडा जस्तै भइसक्याे : प्रचण्ड

Author Image
शनिवार, कार्तिक २४, २०८१

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र काङ्ग्रेसलाई भेडाको संज्ञा दिँदै माओवादी पनि त्यस्तै भइसकेको बताएका छन्।

वाइसिएल थाहा नगरपालिका मकवानपुरको दोस्रो नगर अधिवेशनमा प्रचण्डले पुराना संसदीय पार्टीहरूको संगतले बिगारेको बताएका हुन्।

‘भेडाको संगत गर्दागर्दै हामी पनि अलिअलि भेडाजस्तो भइयो। कांग्रेस र एमालेसँग अलि बढी संगत गरियो। यो संगत गर्ने जात होइन रहेछ। उनीहरू अर्कै जातका मान्छे हामी अर्कै जात।’ प्रचण्डले भने, ‘कुजातसँगको संसर्गले हामीलाई पनि रोग सार्‍यो। हामी पनि धेरथोर मैलामैला जस्ता बिग्रिएका जस्ता, जनताले हेर्दा पनि उस्तै उस्तै भन्दा लाज लाग्न थालेको थियो। हामी उस्तै त होइन। नेपालमा गणतन्त्र संभव नै छैन भनेर बयलगाढाको सिद्धान्त ल्याउने र गणतन्त्र नल्याइ छोड्दिन भनेर हजारौंको बलिदान गर्ने उस्तैउस्तै हुन्छ ? हुनै सक्दैन नि।’

अहिले आफूहरू कमीकमजोरी सच्याउँदै जनतासँग क्षमा मागेर अघि बढ्ने तयारीमा लागेको उनले बताए। सरकार आफूहरूले गरेका राम्रा काम उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै प्रचण्डले जनतामा सरकारप्रति असन्तुष्टि, आवेग र आक्रोश बढ्दै गएको जिकिर गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी नेतृत्वको सरकारले गरेका कामलाई आफ्नो सय दिने उपलब्धिमा समेटेको भन्दै आश्चर्य व्यक्त गरे।

‘पुराना संसदीय खेलाडी भन्नेहरू जालझेल षड्यन्त्र गर्न धेरै सिपालु। हामी जालझेल गर्न जान्दैनौँ। हामीले धेरै राम्रो काम गर्दा पनि जनतामा गएर स्थापित गर्न सकेनौं।’ प्रचण्डले भने, ‘उनीहरूले नगरेका काम पनि आफूले गरेको भन्दैछन्। केपी ओलीले सय दिनको उपलब्धि सार्वजनिक गर्दा देख्नुभयो होला मैले गरेका काम सबै उनले आफ्नो बनाएछन्। आफूले सिन्को भाँचेका छैनन्। तपाईं हामी सोझा जसले जे भने पनि सुनिराख्छौँ। प्रतिवाद गर्दैनौं।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)