धरान – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भ्रष्टाचारमुक्त बनाइ सुधार गर्न क्रियाशिल राजनैतिक दलहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराएका छन् । प्रतिष्ठानको १३ औं दिक्षान्त समारोहमा भाग लिन धरान आएका मन्त्री पौडेललाई विफ आर्मी टेर्निङ सेन्टरको तालिम हलमा भेटेर राजनीतिक दलका प्रतिनिधिहरूले ध्यानाकर्षण गराएका हुन् । बिपी प्रतिष्ठानमा राम्रो भन्दा हाम्रा व्यक्तिलाई पदाधिकारी नियुक्ति गरेका कारण भ्रष्टाचार बढेर स्वास्थ्य सेवा खस्किएको कांग्रेस धरानका सभापति श्याम पोखरेलले बताए । एमालेका धरान अध्यक्ष हर्कजङ एभेङले एमबीबीएस र बिएसी नर्सिङ अध्ययन गर्दा धरानबासीलाई कोटा छुट्याउन माग गरे ।
जसपा धरानका अध्यक्ष ताजुब लिम्बूले प्रतिष्ठानमा आउने बिरामीको स्वास्थ्य बिमालाई प्रभावकारी बनाइ एमआरआई, सिटी स्क्यान, भिडियो एक्सरेलगायतको सेवालाई छिटो छरितो बनाउन माग गरे । एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलहरूले मन्त्री पौडेलसमक्ष बिपी प्रतिष्ठान कोशी प्रदेशको मात्र नभएर देशकै अग्रणी टिचिङ अस्पताल भएका कारण यसलाई पहिलाको अवस्थामा ल्याउन माग गरेका हुन् । उनीहरुले बिपी प्रतिष्ठान सुधार गर्न ११ बुँदे ज्ञापनपत्र पनि मन्त्री पौडेललाई बुझाएका छन् ।
दलहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले बीपी प्रतिष्ठान सुधार गरि यहाँको स्वास्थ्य र शिक्षा गुणस्तरीय बनाइ सर्वसाधारणलाई सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले प्रतिष्ठानमा भएको भ्रष्टाचारका विषयमा पनि छनबिन गरी दोषीमाथि कारवाही गर्ने चेतावनी दिए ।