विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटघाटमा उहाँले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबिच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल गर्ने योजना रहेको बताउनुभयो । उहाँले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहार्दपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गर्नुभयो ।
महामन्त्री थापाले भन्नुभयो, “नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवम् पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ ।” उहाँले बिआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
बिआरआईका सन्दर्भमा उठ्ने गरेको आशङ्का र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको आसन्न चीन भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै महामन्त्री थापाले भन्नुभयो, “विकासका लागि ठुलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरूबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौँ ।”
एक प्रश्नको जवाफमा महामन्त्री थापाले स्थानीय तहको आसन्न उपनिर्वाचनमा यसअघिको तुलनामा नेपाली कांग्रेसले राम्रो परिणाम ल्याउने दाबी गर्नुभयो ।