Aamsanchar

हेवा खोलामा डेढ वर्षदेखि डाइभर्सनकै भर

Author Image
बुधवार, मंसिर १२, २०८१

पाँचथर – साविक मेची अञ्चलका पहाडी जिल्लालाई झापासँग जोड्ने लाइफलाइनका रुपमा स्थापित मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याउने हेवा खोलामा डाइभर्सनबाट यातायात र ढुवानीका साधन वारपार गरिँदैछ ।

सदरमुकाम फिदिमदेखि नांगीन, याङनाम, लुङरुपा, सिदिन, प्राङवुङ र मेमेङलाई जोड्ने फेमे खोलामा पनि अस्थायी डाइभर्सनबाटै यातायात र ढुवानीका साधन वारपार गरिरहेका छन् । यस्तै ताप्लेजुङबाट पाँचथर हुॅदै धरान इटहरी जोड्न तमोर करिडोरमा पर्ने हेवा खोला, मध्य पहाडी राजमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ, च्याङथापु हुँदै थर्पु जोड्ने दोभाने खोला, फिदिम फालौट सडकमा पर्ने सिदिन र प्राङवुङ जोड्ने मुवा खोला र सिदिन मेमेङ जोड्ने घुमाउनेटार सॅगै प्राङवुङ र मेमेङ जोड्ने लुङमादिन घाटमा पनि पुल नबन्दा डाइभर्सनको भरमा आउजाउ भइरहेको छ ।

यसरी डाइभर्सनको भरमा आउजाउ भइरहे मध्य पहाडी राजमार्गको दोभाने सँगै हेवा खोलाको घुमाउनेटार, लुङमादिन र तमोर करिडोर अन्तरगत माझीटार नजिकको हेवा खोलाका पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । यस्तै मेची राजमार्गको हेवा खोला, फिदिम फालौट सडक खण्डको फेमे र मुवा खोलाका पुल गत असोज १२ गते आएको बाढीले बगाइदिएपछि अस्थायी डाइभर्सन मार्फत काम चलाइदै आएको हो । मेची राजमार्गको हेवा खोला पुल २०८० असार २ मा पनि बाढीले बगाएको थियो । लगत्तै बनेको बेलिब्रिज पुनः असोज १२ मा बगेपछि पाँचथर र ताप्लेजुङ जिल्ला सडक सञ्जालबाट बिच्छेद भएसँगै पुनः डाइभर्सन बनाइएको हो । प्रायः खोलामा हृयुम पाइप मार्फत पानी तर्काएर माथि ढुङ्गा बिछ्याएर गाडी तर्ने ट्रयाक बनाइएको छ । घुमाउनेटारमा भने हृयुम पाइप माथि ढलान गरेर केही पक्की स्वरुप दिइएको छ । मेची राजमार्ग र तमोर करिडोरमा पर्ने हेवा खोला तर्दै पाँचथरको हिलिहाङ, याङवरक हुँदै ताप्लेजुङसम्मका मानिस आउजाउ गर्छन् । यी क्षेत्रमा खाद्यान्न ढुवानी गर्ने बाटो पनि यहीँ हो । यस्तै फेमे खोलाले जिल्लाको फिदिम नगरपालिकाका १०, ११, १२, १३ सँगै फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ । उता दोभाने खोलाले याङवरक–१ र २ सॅगै ताप्लेजुङको सिदिङवा गाउॅपालिका–१ र २ लाई जोड्छ । यत्तिका भूगोलमा बसोबास गर्दै नागरिकले उपभोग गर्दै आए आधा दर्जन बढी पुल खोला नालाबाट डाइभर्सनको भरमा सवारी र ढुवानी आउजाउ भइरहे पनि पक्की पुल बनाउन तर्फ सरकारी निकायले ध्यान दिएका छैनन् ।

मेची राजमार्गमा पर्ने हेवा खोलामा भने तत्कालका लागि बेलिब्रिज र दिर्घकालीन समाधानका लागि पक्की पुलका डिजाइन बनाएर भौतिक पूर्वाधार तथा मन्त्रालय समक्ष बजेट र टेण्डर स्विकृतिका लागि माग गरिएको सडक डिभिजन इलामले जनाएको छ । ‘वर्षाद सुरु हुन अगाबै बेलिब्रिज थाप्ने र बोलपत्र आहृवान गरी पक्की पुलको सम्झौता गर्ने योजना छ, जस्को इष्टिमेट र डिजाइन गरिएको फाइल बोकेर मन्त्रालय दौडिरहेको छु,’ सडक डिभिजन इलामका प्रमुख (इन्जिनियर) पवन भट्टराईले भने । हेवा खोला र दोभाने खोलामा पुल बनाउने क्षेत्राधिकार संघीय सरकारको हो । यी बाहेक फेमे,मुवा,घुमाउनेटार र लुङमादिन लगायतका खोलामा भने प्रदेश सरकारले पुल थाप्ने दायित्व कोशी प्रदेश सरकारको हो । संघीय सरकारले हेवा खोलामा पुल बनाउने प्रक्रियाका लागि इष्टिमेट तयार पारे पनि प्रदेश सरकारले कुनै पनि खोलामा काम गर्ने सुरसार थालेको छैन । वर्षात अगावै पुल बगाएका सबै ठाउँमा बेलिब्रिज हाल्न प्रदेश मन्त्री, सांसद र भौतिक पूर्वाधार मन्त्रालयसँग अनुरोध गरे पनि प्रक्रिया अगाडि नबढेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले बताउँछन् । ‘बाढीले पुल बगाएको तीन महिना बित्न लाग्यो वर्षा नलाग्दै डाइभर्सनको विकल्प नखोजिए झनै ठूलो जोखिम निम्तिने देखिन्छ, समस्या समाधानका लागि जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायलाई घच्घच्याइरहेका छौं ।’ फिदिम नगरपालिकाका मेयर काफ्लेले भने ।

डाइभर्सन गरिएका अधिकांश स्थानमा दुईतर्फी गाडी तर्ने अवस्था छैन, ठूला सवारी र ढुवानीका साधन मुस्किलले मात्रै गुडिरहेका छन्, हेवा खोला वारि र पारि अस्थायी रुपमा खनिएका सडक साँघुरा हुँदा सवारी पास हुन नसकेर घण्टौं जाम हुने गरेको छ । ‘डाइभर्सनको विकल्प पनि नखोज्ने र वारी पारीका सडक स्तरोन्नति पनि नगर्ने हो भने यहाँ ठूला दुर्घटना हुने निश्चित छ,’ ट्रकचालक सिल्भर श्रेष्ठले भने । अस्थायी डाइभर्सनबाट हिउँद भर जेनतेन गाडी तरे पनि वर्षा लाग्नासाथ खोला बढेर बगाउने निश्चित भएकाले तत्काल बेलिब्रिज र पक्की पुल बनाउन सरोकारवालालाई जिल्लाका नागरिकहरुले सुझाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर