Aamsanchar

राष्ट्रिय सहकारी बैंकलाई पूर्ण व्यवसायिक बनाउन अग्रसर छौं : अध्यक्ष गिरी

Author Image
बिहिवार, पौष ४, २०८१

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष महेन्द्रकुमार गिरीले राष्ट्रिय सहकारी बैंकलाई राजनीति नगरी पूर्ण व्यवसायिकरूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। बुधबार बैंकको २१ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष गिरीले सहकारी बैंकलाई व्यावसायिक र सदस्य(केन्द्रित बनाउने उद्देश्य राखिएको बताएका हुन्।

अध्यक्ष गिरीले भने, ‘राष्ट्रिय सहकारी बैंकभित्र हामी राजनीति गर्न आएका होइनौँ। र, राजनीति पनि गर्दैनौँ। यसलाई पूर्ण व्यवसायिकरुपमा अगाडि बढाउँछौँ।’ उनले सहकारी बैंकको उद्देश्य राजनीति होइन, व्यवसायिकता र सुशासन कायम गर्दै सदस्यहरूलाई सुविधा प्रदान गर्नु रहेको स्पष्ट पारे।

उनका अनुसार सहकारी बैंकको मुख्य चुनौती खराब कर्जा र बेसरेटको उच्चस्तर रहेको छ। यसले प्रतिस्पर्धा गर्न कठिनाइ उत्पन्न गरेको उनको भनाइ छ। ‘सहकारी बैंकलाई बचाउनका लागि सदस्य र कर्मचारीहरूको सहयोग अपरिहार्य छ। सबैको सामूहिक प्रयासले मात्र बैंकलाई सुदृढ बनाउन सकिन्छ,’ उनले भने।

कर्मचारी र सञ्चालकको सुधारमा ध्यान
अध्यक्ष गिरीले कर्मचारी र सञ्चालकहरूको संस्कार सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्दै गुनासोहरूलाई सम्बोधन गर्ने बताए। उनले भने, ‘कतिपय कुरामा गुनासो आएको छ। हाम्रा कर्मचारीहरूमा असल संस्कार भएन भन्ने कुरा आएको छ। सञ्चालकहरूमा पनि त्यस्तो भएको गुनासो छ। त्यसलाई सुधारेर पूर्णरूपमा सुशासन कायम गर्ने हाम्रो लक्ष्य हो।’

गिरीका अनुसार बैंकले पुस महिनाभर सदस्य र सरोकारवालाहरूबाट सुझाव संकलन गरी आगामी दुई वर्षभित्र सहकारी बैंकलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउन रणनीति तयार गर्ने योजना बनाएको छ। ‘पुसभित्र सुझावहरू संकलन गरेर आगामी कार्यदिशा तय गर्छौं। यसलाई दुई वर्षभित्र कुनरूपमा सुधार्न सक्छौँ भन्नेमा काम भइरहेको छ,’ उनले थपे।

सबैको जित हुने गरी काम गर्ने प्रतिबद्धता
सदस्यहरूको हितलाई ध्यानमा राख्दै बैंकलाई अझ प्रभावकारी बनाउन गिरीले सहकार्य र सामूहिक प्रयासको आवश्यकता रहेको औंल्याए। उनले भने, ‘राष्ट्रिय सहकारी बैंक मात्रै मोटायो भने हाम्रा सदस्यहरू बाहिरिन सक्छन्। त्यसैले सबैको जित हुने गरी काम गर्न प्रतिबद्ध छौँ।’

भविष्यको दिशा
अध्यक्ष गिरीले सहकारीमा आधारित पूर्ण व्यवसायिक मोडल विकास गर्ने प्रतिज्ञा गर्दै आगामी दिनहरूमा सदस्यलाई थप सुविधा र सहजता प्रदान गर्ने कुरामा जोड दिए। उनले भने, ‘हाम्रो प्राथमिकता भनेकै सदस्यहरूको हित हो। त्यसका लागि सहकारी बैंकलाई पूर्ण व्यवसायिक बनाउँदै अघि बढ्छौँ।’

राष्ट्रिय सहकारी बैंकले यसपटक वार्षिक साधारण सभामार्फत सुधारका पहलहरू अघि बढाउने र व्यवसायिकताको दृष्टिकोणमा नवीन परिवर्तन गर्ने संकेत दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर