पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासतमा सुतेको सीसीटीभी फोटो सार्वजनिक भएपछि विवाद सुरु भएको छ। सह–कोषाध्यक्ष दीपक बोहराले उक्त फोटोबारे प्रहरीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो विषय चर्चामा आएको हो।

तर, उक्त फोटो रास्वपा समर्थक डा. निकोलस भुसालले नै खिचेको खुलासा भएको छ। भुसालले प्रहरी हिरासतमा रवि सुतेको देखाइएको सीसीटीभीबाट फोटो खिचेको र सामाजिक सञ्जालमा राखेको स्वीकार गरेका छन्। उनले भने, “तस्बिर राख्न नहुने रहेछ, गल्ती भयो। रवि दाइको अवस्था राम्रो छ भन्ने सन्देश दिनका लागि राखेको, तर अनर्थ भयो।”

कास्की प्रहरीका अनुसार निकोलस भुसाल केही दिन अघि रवि लामिछानेलाई भेट्न हिरासत पुगेका थिए। भेट अनुमति नपाएपछि उनलाई सीसीटीभीबाट रवि सुतेको देखाइएको थियो। तर, मोबाइल सीसीटीभी भएको ठाउँसम्म कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रहरीले तस्बिर सार्वजनिक गर्ने व्यक्तिको खोजी जारी रहेको बताएको छ। कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

