Aamsanchar

खोटाङ : बुइपाका स्थानीयले आयातित पेय पदार्थ उपभोगमा प्रतिबन्ध लगाए

Author Image
शुक्रवार, पौष १९, २०८१

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका स्थानीयले आयातित पेय पदार्थ उपभोगमा प्रतिबन्ध लगाएका छन् । आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्‍याएको भन्दै स्थानीयले आयातित पेय पदार्थमा प्रतिबन्ध लगाएका हुन् । बुइपास्थित कुसुङ्खा, गैरी फुलेली, उर्लेनी, छापगाउँलगायतका स्थानीले बिहे, छेवर, गुन्युचोल, पास्नी, काजकिरिया, विभिन्न चाडपर्व र मेलापातमा समेत आयातित पेय पदार्थ उपभोगमा बन्देज लगाएका हुन् । गैरी फुलेलीका स्थानीय अरुण राईका अनुसार स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध लगाइएको हो ।

उनका अनुसार गत असोज २९ गते भएको स्थानीय सुशीला राईको बिहेदेखि आयातित पेयपदार्थ सेवनमा प्रतिबन्धको कार्यान्वयन गरिएको थियो । ‘बिहे, छेवर, गुन्युचोली, पास्नी,काजकिरिया, सांस्कृतिक चाडपर्व, खेतलापातमा आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध गरिएको हो,’ राईले भन, ‘आयातित पेय पदार्थ आर्थिक, स्थास्थ्य र सांस्कृतिक हिसाबले पनि प्रतिकूल भएकाले प्रतिबन्ध लगाइएको हो ।’

गैरी फुलेलीकै प्रकाश राईका चाडपर्व र विभिन्न रीतिरिवाजमा खर्च बढ्दै गएकाले पनि यस्तो निर्णय गरिएको हो । ‘आर्थिक मात्र होइन, स्वास्थ्य र सांस्कृतिक हिसाबले पनि उचित नदेखिएपछि बन्द गरिएको हो,’ उनले भने ।
कुसुङ्खामा भने गत वर्षदेखि नै आयातित पेय पदार्थ सेवनमा रोक लगाइएको थियो । स्थानीय प्रजीन राईका अनुसार स्थानीय सूर्योदय सांस्कृतिक परिवारको पहलमा गत २०८० वैशाख १ गते भएको भेलाको निर्णयले आयातित पेय पदार्थमा रोक लगाइएको हो ।

यसबाहेक उर्लेनी, छापगाउँमा समेत स्थानीयले आयातित पेय पदार्थ सेवन गर्न छाडेको वडाध्यक्ष दिनेश राईले बताए । यसले परम्परागत संस्कार, आर्थिक, जनजीविका, स्वास्थ्यलगायतका विषयमा समेत टेवा पुर्‍याएको राईले जनाए । यो निर्णयले परम्परागत संस्कार संस्कृति, आर्थिक, जनजीविका, स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको राईले बताए । ‘स्थानीय अगुवाहरूले स्वतस्फुर्त आयातित पेय पदार्थ सेवन नगर्ने निर्णय गरी कार्यान्वयन गर्नु भएको छ,’ राईले भने,‘यसले थप प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने पक्षमा छौँ ।’

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर