विराटनगर- मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सुचारु राख्दा स्थानीय नागरिकलाई उपचार सेवामा सुविधा भएको छ ।
अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिन नै ओपिडी सेवा सुचारु राख्ने निर्णय गरी कार्यान्वयन सुरु गरेको छ । बुढीगङ्गा अस्पतालको ओपिडी सबै सार्वजनिक बिदाका दिनमा पनि खुल्नेछ । अस्पतालका व्यवस्थापक डा। सुरज थापाले भन्नुभयो, ´दैनिक १२ घण्टा ओपिडी सेवा दिने र वर्षको ३६५ दिन नै ओपिडी खुला रहने यो नेपालकै दोस्रो अस्पताल हो भन्ने मेरो दाबी छ, कुनै पनि दिन यस अस्पतालबाट जो कसैले ओपिडी सेवा लिन सक्नुहुन्छ । हामीले अस्पताललाई नमुना बनाउँदै धेरैभन्दा धेरै सेवाग्राहीलाई सहज र सुलभ उपचार सेवा दिनेतर्फ ध्यान दिएर काम गरिरहेका छौं ।`
सुनसरीको चतरा अस्पतालमा यसअघि कार्यरत डा। थापा चार महिनाअघि मात्र बुढीगङ्गा पालिका अस्पतालमा आउनुभएको हो । त्यसअघिबाटै सकारात्मकरुपमा सञ्चालन भइरहेको अस्पताललाई अझ प्रभावकारी र स्थानीयको विश्वास जित्ने ढङ्गबाट काम गर्ने प्रयत्न आफूले गरिरहेको उहाँले बताउनुभयो ।
सरकारले १० शय्याको अस्पतालको रुपमा स्वीकृति दिएको भए पनि त्यसको क्षमता बढाउनेतर्फ काम भइरहेको थापाले जानकारी दिनुभयो । स्वीकृत शय्या अनुसार अस्पतालमा सरकारले जनशक्ति आपूर्ति नगर्दा वार्षिक ठूलो धनराशी जनशक्ति व्यवस्थापनमा भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ´१० शय्याको अस्पतालमा सरकारले २२ जना स्वास्थ्यकर्मीहरु उपलब्ध गराउनुपर्ने हो, त्यति दरबन्दी कायम पनि छ तर सरकारले जम्मा ९ जना जनशक्ति मात्र पठाएका कारण अस्पताल सञ्चालन गर्न अधिक व्ययभार परेको छ ।`
बुढीगङ्गा पालिका अस्पतालमा करार तथा ज्यालादारीमा राखिएका २२ जना स्वास्थ्यकर्मी छन् भने १५ जनाभन्दा बढी विभिन्न तहका कर्मचारी कार्यरत छन् । सबै कर्मचारीलाई अस्पताल विकास समितिमार्फत सेवा सुविधा उपलब्ध गराउने गरेको डा। थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ूपालिका अस्पताल भनिए पनि गाउँपालिकाले कर्मचारीहरुको पारिश्रमिकका लागि कुनै रकम उपलब्ध गराउँदैन, हामी आफ्नै स्रोतबाट कर्मचारी व्यवस्थापन गरिरहेका छौं र अस्पताल सञ्चालनका लागि आवश्यक सबै स्रोतसाधन जुटाइरहेका छौं ।ू
अस्पतालमा अहिले अस्पतालको तर्फबाट ६ जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना डेन्टल अधिकृत कार्यरत छन् । रेडियोलोजिष्ट र स्त्री तथा महिला रोग विशेषज्ञ चिकित्सक गरी दुई जना बुढीगङ्गा गाउँपालिकामा सञ्चालित विराट मेडिकल कलेजले सौजन्यस्वरुप उपलब्ध गराएको छ । सौजन्यस्वरुप उपलब्ध भएका चिकित्सकहरुले बिदाका दिनमा बाहेक सबै दिन नियमित सेवा उपलब्ध गराउने गरेको डा। थापाले जानकारी दिनुभयो । नाक, कान घाँटी, फिजियोथेरापी र आँखा उपचार सेवा पनि यसै आर्थिक वर्षभित्रबाट सुरु गर्ने तयारी अस्पतालले गरिरहेको छ । अस्पतालले २४ घण्टे आकस्मिक सेवा पनि प्रदान गर्दै आएको छ ।
दैनिक न्यूनतम १५० देखि अधिकतम ४०० जनासम्म बिरामीले सेवा लिँदै आएको अस्पतालमा व्यवस्थित प्रयोगशाला ९ल्याब० सेवा, फार्मेसी सेवा र अन्य माइनर प्रोसिड्युरहरु सबै सञ्चालनमा रहेको र छिट्टै साझा सुलभ फार्मेसी सेवा सञ्चालन गर्ने तयारी भइरहेको डा। थापाले बताउनुभयो । साझा सुलभ फार्मेसीबाट नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने र बिमा वापत प्राप्त हुने औषधिबाहेक अन्य औषधिहरु न्यूनतम १० देखि ५० प्रतिशतसम्म छुटमा बिरामीहरुलाई उपलब्ध गराउने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले गत आर्थिक वर्षमा ४ करोड ५० लाख रुपियाँ आम्दानी गरेको थियो । जसमा ओपिडी पुर्जा जारी गरेबापत मात्र ३६ लाख रुपियाँ आम्दानी भएको डा. थापाले जानकारी दिनुभयो । त्यसमध्ये कर्मचारीको सेवा सुविधाका लागि करिब २ करोड खर्च भएको र बाँकी अस्पतालका अन्य आवश्यक यन्त्र, उपकरण तथा मसलन्दहरुमा खर्च भए पनि अस्पताल नोक्सानीमा नरहेको डा। थापाले बताउनुभयो । उहाँले अडिटको काम जारी रहेकोले विस्तृत हिसाब केही समयपछि प्राप्त हुने जनाए ।