काठमाडौं – दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्। उनीहरू गत साता कोरियन एयरबाट काठमाडौं आएका हुन्।
कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।
पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्।
दक्षिण कोरियाको अध्यागमनले अवैधरुपमा बसेका विदेशीहरूमाथि निगरानी बढाएपछि नेपालीहरू समेत धमाधम निष्काशित हुन थालेका छन्। यसअघि पुस १७ गते दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्काशन गरेको थियो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।
कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामालाई पक्राउ गरी नेपाल पठाएको थियो।
भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको थियो। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।
इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्।