Aamsanchar

४१ वटा गोही राप्ती नदीमा छाडियाे

Author Image
बुधवार, पौष २४, २०८१

चितवन-चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक वासस्थानमा छोड्ने योजना रहेको छ । गत आवमा एक सय पाँच गोही नदीमा छोडिएको भन्दै नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई नदीमा छोड्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा एक हजार नौ सय ९८ गोही छोडिसकिएको निकुञ्जका सूचना अधिकारी थापामगरले उल्लेख गर्नुभयो । ती गोही बच्ने दररेट निकै न्यून छ ।

थापामगरले गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणीमा एक सय तीन गोही भेटिएको जानकारी दिनुभयो । हाल प्रजनन केन्द्रमा सात सय ५९ वटा गोही छन् । तीमध्ये एक सय ९५ भुरा, चार सय ३२ किशोर अवस्थाका, एक सय अर्धवयस्क र ३२ वटा वयस्क छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशमा पाइने घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति थियो भने सन् १९७० मा त्यसको दुई प्रतिशतमात्र सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मानिसले माछा मार्नेलगायत गतिविधिका कारण गोही प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताउनुभयो ।

नदीमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर