Aamsanchar

निसान पदयात्रा सुरु

Author Image
बुधवार, पौष २४, २०८१

इलाम-इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि निसान पदयात्रा सुरु भएको छ । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्र मेचीबजार तीन ब्लकबाट पदयात्रा सुरु गरिएको हो ।

आज सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले इलाम नगरपालिका प्रमुख केदार थापालाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शुभारम्भ गर्नुभयो । पदयात्रा पूर्वी सीमाबाट सुरु भएर पुस २६ गते इलाम नगरपालिकामा समापन हुनेछ ।

नेपाल एकीकरणताका तात्कालिन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौलीसन्धीपछि फर्काएर राखेका स्थानहरूलाई जोडेर तयार गरिएको निसान पदमार्गमा पदयात्रा आयोजना गरिएको हो ।

पूर्वी सिमानाबाट हिँडेको पदयात्रा आज बेलुका करफोकको पूर्णैडाँडा आइपुग्ने छ । भोलि पूर्णैडाँडामा औपचारिक उद्घाटन गरेर नामसालिङको हात्तीटारसम्म आउने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो ।

२६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माईस्थानमा आएर समापन हुने प्रवक्ता दुलालले बताउनुभयो ।

पदयात्रामा जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी लगायत करिब एक सय जना रहेको बताइएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका बेला पूर्वी सिमाना टिस्टा नजिक नागरिगडीबाट फर्काइएका निसान करफोकको पूर्णेडाँडामा ल्याएर राखिएको इतिहास छ । त्यसपछि सुरक्षाको कारण देखाउँदै नामसालिङको हात्तीटार ल्याइएको र पछि इलाम सदरमुकाम भएपछि सदरमुकामस्थित माईथानमा ल्याइएको इतिहास रहेको छ । निसान पदमार्ग करिब ४२ किलोमिटर रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर