“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ। संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्र हराउँछ।“
नेपाली पात्रोअनुसार, तिथि र मितिको आधारमा नेपालमा साना, मझौला, ठूला तथा स्थानीय, क्षेत्रीय, र राष्ट्रिय स्तरका करिब ३५ वटा पर्व विशेष रूपमा मनाइन्छ। ती पर्वहरू नेपाली समाजका मौलिक, सांस्कृतिक, धार्मिक, र वैज्ञानिक विशेषताले भरिएका छन्। यसै परम्परागत पर्वहरूमा एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति।
माघे संक्रान्ति विभिन्न नामले चिनिन्छ—मकर संक्रान्ति, माघी आदि। यो पर्व माघ महिनाको पहिलो दिन (१ गते) मनाइन्छ र यस दिन नेपाल सरकारले सार्वजनिक बिदा दिने चलन छ।
यस दिन नेपालीहरूले नदीनालामा स्नान गरी पूजा–आराधना गर्छन्। कोशी, त्रिवेणी, कनकाई माई जस्ता धार्मिक आस्थासँग जोडिएका स्थानमा स्नान गरी चाकु, घिउ, तिलको लड्डु, तरुल, र सेलरोटी जस्ता परिकार खाने चलन छ। यस पर्वमा खाने परिकारले शरीर पोषिलो बनाउने र रोग निवारण गर्ने विश्वास छ।
माघे संक्रान्तिको खगोलीय महत्त्व पनि छ। यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा प्रवेश गर्छ। यसबाट दिन लम्बिँदै जान्छ र रात छोटिँदै जान्छ। त्यसैले यसलाई मकर संक्रान्ति भनिएको हो।
सांस्कृतिक र सामाजिक पक्ष
माघे संक्रान्ति नेपालका विभिन्न जातजातिले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।
तराई क्षेत्रमा यस पर्वलाई तिला संक्रान्ति भनिन्छ। यस दिन खिचडी, तिल, चिउरा, र लड्डु जस्ता परिकार तयार पारिन्छ।
थारू समुदायमा यो पर्व माघीका रूपमा मनाइन्छ, जसलाई उनीहरूको सबैभन्दा ठूलो पर्व मानिन्छ।
मगर समुदायमा माघे संक्रान्ति तीन दिनसम्म धूमधामका साथ मनाइन्छ। पहिलो दिन स्नान गरी पुर्खाको पूजा, दोस्रो दिन बनभोज, र तेस्रो दिन गाउँभरिका पुरुषहरूले तारो हान्ने प्रचलन छ।
हिजोआज विदेशमा रहेका नेपालीहरूले पनि यो पर्व उत्साहका साथ मनाउन थालेका छन्। जाडो महिनामा पर्ने यो पर्वमा खाइने पोषिलो परिकारहरूले स्वास्थ्यलाई फाइदा पु¥याउने, शरीरलाई न्यानो बनाउने, र ऊर्जा प्रदान गर्ने विश्वास छ।
माघे संक्रान्तिमा खाइने तिल, घिउ, चाकु, र खिचडीले शरीरलाई ऊर्जा दिन्छ। साथै, मास हाली पकाएको तेल शरीरमा लगाउँदा चिसोबाट बच्न मद्दत पुग्छ। छालासम्बन्धी तथा अन्य रोग निवारणमा समेत यस पर्वले सहयोग गर्छ।
माघे संक्रान्ति केवल एक पर्व नभई, धार्मिक आस्था, सांस्कृतिक महत्त्व, र सामाजिक एकताको प्रतीक हो। हाम्रा मौलिक परम्पराको संरक्षण गर्दै संस्कार र संस्कृतिको निरन्तरता दिनु हामी सबैको कर्तव्य हो।
माघे संक्रान्तिको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना!
लेखक ओली राष्ट्रिय हिन्दु एकता मञ्च नेपालका अध्यक्ष हुन् ।