मोरङ- उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सेवा उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा स्वास्थ्यमन्त्री राईले गणतन्त्रको लाभ निम्न वर्गले अझै लिन नसकिरहेको बताउनुभयो । उहाँले निजी अस्पतालले कृत्रिम विवरण बनाएर अस्पताल नवीकरण गर्न कागजात पेस गर्ने तर असाहय, अपाङ्ता भएका, सडक मानव र विपन्न वर्गका बिरामीको विवरण बुझाउन नसकेको बताउनुभयो । अस्पताल दर्ता ऐनले तोकेको मापदण्ड अनुसार अस्पतालको शøया सङ्ख्याका आधारमा निश्चित प्रतिशत विपन्न वर्गका बिरामीको उपचार गर्नु पर्छ तर कुनै पनि निजी अस्पतालले मापदण्ड अनुसार विपन्न वर्गको निःशुल्क उपचार नगरेको बताउँदै मन्त्री राईले स्वास्थ्य मन्त्रालयको निर्देशन नमाने अस्पतालको इजाजतपत्र खारेज गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रको सपना निःशुल्क उपचार, आधारभूत शिक्षा थियो तर सपना अनुसार काम हुन सकिरहेको छैन ।”
मन्त्री राईले स्वास्थ्य मन्त्रालयमा आफू आएपछि व्यापक सुधारमा लागेको दाबीसमेत गर्नुभयो । विगतमा अघिल्लो आवको खर्चले पछिल्लो आवको असार १५ पछि औषधी खरिद हुने गरेको सुनाउँदै मन्त्री राईले यो परिपाटी अन्त्य भएको बताउनुभयो । उहाँले अस्पतालका कर्मचारी र चिकित्सकको दरबन्दी व्यवस्थापनका लागि ओएनएमको सर्भे अन्तिम चरणमा रहेको बताउनुभयो । १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि दमकको एउटा अस्पतालसँग समन्वय भएको उल्लेख गर्नुभयो । गणतान्त्रिक व्यवस्थामा नागरिकले स्वास्थ्य सेवा नपाए अरू कुनै पनि व्यवस्थाले पूरा नगर्ने उल्लेख गर्दै मन्त्री राईले स्वास्थ्य बिमा, गाउँ गाउँमा अस्पताल निर्माण गणतन्त्रकै उपलब्धि भएको जिकिर गर्नुभयो ।
कोशी प्रदेशका सांसद उमाकान्त गौतमले राजमार्गसँगै जोडिएको ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु हुँदा विराटनगरबाहिरका सेवाग्राही लाभान्वित हुने बताउनुभयो । उहाँले १५ शय्याको अस्पतालको जनशक्तिले ५० शय्याको अस्पताल सञ्चालन गर्न समस्या भइरहेको बताउँदै प्रदेश सरकारले अस्पतालको दरबन्दी सुनिश्चित गर्नुपर्ने बताउनुभयो । सधैँ इन्ट्रनसिपका डाक्टरका भरमा अस्पताल चलाउन नसकिने सांसद गौतमले उल्लेख गर्नुभयो । विगतमा नगर अस्पताल छँदा नियुक्त भएका १३ जना कर्मचारीलाई तलब दिन समस्या भइरहेको सांसद गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रदेशले मेरा कर्मचारी होइन भन्ने, नगरपालिकाले पारिश्रमिक पठाउँदा महालेखाले बेरुजु लेख्ने गरेकाले समस्या भएको हो ।”
कोशी प्रदेशका सांसद शोभा चेम्जोङले अस्पतालका भवन बनिरहेका छन् तर जनशक्ति बढाउन सरकारले बेवास्ता गरेको छ । उहाँले ओएनएम सर्भे गरेर तुरुन्त दरबन्दी बढाउन आग्रह गर्नुभयो । करारमा रहेका कर्मचारीलाई प्रक्रिया पुर्याएर स्थायी नगराए सधैँ स्वास्थ्य क्षेत्रमा जनशक्ति नयाँ हुने सांसद चेम्जोङले बताउनुभयो । सांसद चेम्जोङले छ महिना काम गरेर सिकेको जनशक्ति नयाँ अवसर पाए छाडेर जाने गरेकाले सधैँ कर्मचारी र चिकित्स नियुक्तिको सूचना निकाल्नु परेको उल्लेख गर्नुभयो ।
कोशी प्रदेशका सांसद विद्यादेवी चाम्लिङले अस्पतालपरिसर साँघुरो भएको बताउनुभयो । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने सरकारी घोषणा कार्यान्वयन नभएको बताउनुभयो । उहाँले स्वास्थ्य बिमाको भुक्तानी प्रक्रिया जटिल हुँदा अस्पताल सञ्चालनमा समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा पूर्वाधारसँगै उपकरण र जनशक्ति बढाउनेमा प्रदेश सरकार गम्भीर हुनु पर्छ ।”
ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रविकुमार साहले विभिन्न प्रकारका विशेषज्ञ सेवा दिइरहेको अस्पतालमा गत आर्थिक वर्षमा एक लाख १० हजार ८७८ जना बिरामीले बहिरङ्ग सेवा लिएको बताउनुभयो । यसमध्ये ९७ हजार ५४२ बिरामी स्वास्थ्य बिमासँग जोडिएका थिए । अस्पतालले गत वर्ष एक हजार ६७६ जना बिरामीको शल्यक्रिया गरेको थियो । राजमार्गसँगै जोडिएको अस्पतालको आकस्मिक कक्षमा सात हजार ८९ जना बिरामी भर्ना भएका थिए ।
२०४९ साल चैतमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताललाई २०७२ सालमा १५ शय्यामा स्तरोन्नति गरिएको थियो । २०७४ सालमा स्थानीय तहलाई जिम्मा लगाइएको यो अस्पताल २०७७ साउनमा कोशी प्रदेशले सञ्चालन गर्ने गरी ५० शय्यामा विस्तार गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रूपमा सञ्चालन हुँदै आएको छ ।
अस्पताल सञ्चालन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक अजम्बर राईको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो ।