Aamsanchar

रवि लामिछाने सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल धरौटीमा छुटे

Author Image
शुक्रवार, माघ ४, २०८१

पोखरा – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार उनीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै बयान र थुनछेक बहस भएको थियो ।

न्यायाधीश शंकरबहादुर राईको इजलासले डा.भुसाललाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । भुसालविरुद्ध सरकारी वकिलको कार्यालयले १ लाख रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो ।

यसअघि ७ पुसमा पक्राउ गरी त्यसको भोलिपल्ट पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो । प्रहरी अनुसन्धानका क्रममा तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गर्दै डा। भुसाललाई अदालत उपस्थित गराइएको थियो ।

विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पुर्‍याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामा प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि लगाइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)