

विराटनगर-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार र शनिबार २४ घण्टाको बसाइको क्रममा विहानै स्थानीय परिकार भक्काको स्वाद लिनुभएको छ ।

अध्यक्ष प्रचण्ड शनिबार बिहान ६ बजे करिब डेढ घण्टा मर्निङवाक गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि डाँफे चोकमा राजवंशी समुदायको विशेष परिकार भक्काको स्वाद लिनुभयो ।

अध्यक्ष प्रचण्ड राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको स्थलगत अवलोकन पनि गर्नुभयो । रंगशाला अवलोकन गर्नुहुँदै अध्यक्ष प्रचण्डले रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार भइ वातावरणीय अध्ययन समेत पूरा भइसकेको बताउनुभयो ।

सोपछि उहाँले पार्टीको खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै २०८४ सालमा हुने स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा माओवादी आफ्नै बलबुतामा चुनाव लड्ने पनि बताउनुभयो ।


कार्यक्रममा माओवादी केन्द्रका सचिव हरिबोल गजुरेल, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अमनलाल मोदी, पूर्वमन्त्री शिवकुमार मण्डल, माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङलगायतले सम्बोधन गर्नुभएको थियो ।