Aamsanchar

तरकारीलाई कसरी पछिसम्म सदुपयोग गर्न सकिन्छ ?

Author Image
शुक्रवार, माघ ११, २०८१

काठमाण्डौ – अहिले उत्पादन भएका काउली, साग, मुलालगायतका तरकारीको भाउ नपाएको किसानको गुनासो छ । दुःख गरेर उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाएपछि कतिपय किसानले गाईवस्तुलाई खुवाउन थालेका छन् । कतिपयले बारीमा फालेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२४ का एक किसानले १० कठ्ठामा लगाएको काउली बारीमा ट्याक्टरले जोतेका छन् । काउली किलोको पाँच रुपैयाँ पनि पर्न मुश्किल भएपछि लगानीसमेत नउठेको किसानले गुनासो गर्दै आएका छन् ।

गएको वर्ष पनि किसानले भाउ नपाएको भन्दै सडकमै गोलभेँडा फालेका थिए । काउली, बन्दा, गोलभेँडा, साग, मुलालगायतका तरकारीले भाउ नपाएको भन्दै बेलाबेला किसानले यसैगरी नष्ट गर्ने गरेका छन् । किसानले भाउ नपाए पनि उपभोक्ताले महँगो मूल्य तिरेर खानुपर्ने अर्को अवस्था छ ।

अहिले उत्पादन भइरहेका तरकारीलाई खेर फाल्नुभन्दा प्रशोधन र संरक्षण गरी राख्न सकिने कृषि विज्ञहरू बताउँछन् । अहिले किसानले भाउ नपाएको काउलीसहित साग, मूलालाई कसरी पछिसम्म सदुपयोग गर्न सकिन्छ त ? तरकारी बालीका विज्ञ डा.नविनगोपाल प्रधानको सुझाव यस्तो छ–

अहिले काउली, बन्दालगायतका तरकारीको बजार भाउ एकदमै सस्तो भएको छ । अहिले सस्तिएको काउलीबाट पछि महँगो भएको बेला फाइदा लिन सकिन्छ । बजारबाट ल्याएको काउलीलाई चाना बनाएर झिँगा नलाग्ने ठाउँमा जाली लगाएर अनि सुकाएर राख्दा पछि फेरि प्रयोग गर्न सकिन्छ ।

काउलीलाई अचार बनाएर राख्न पनि सकिन्छ । यस्तै सागलाई पनि विभिन्न तरिकाले फेरि प्रयोग गर्न सकिन्छ । अहिले बढी भएको सागको गुन्द्रुक बनाउन सकिन्छ । मुलाको सिन्की र चाना बनाएर सुकाएपछि तामासँग मिसाएर खान सकिन्छ ।

अहिले बढी भयो भनेर तरकारी फाल्नु पर्दैन । अहिले घाम लागेको र तापक्रम पनि बढेको छ । अहिले चाना बनाएर सुकाउन बढीमा एक हप्ता लाग्न सक्छ । गुन्द्रुक बनाउन चाहिँ अलि बढी समय लाग्न सक्छ ।

यी विधि किसानलााई थाहा भइरहेको कुरा हो । घाममा सुकिसकेपछि त्यसको व्यवस्थापन गर्ने पाटोमा ध्यान दिनुपर्छ । हामीले पनि बढी भएको तरकारी सुकाएर पछि खाने गरेका छौँ ।

मुलालाई चाहिँ जमिनमै खनेर पनि राख्न सकिन्छ । जमिनमा झन्डै दुई फिट खनेर, त्यसमा प्लास्टिक राखेपछि मुला राख्यो भने स्टोर हुन्छ । यसरी एकदेखि डेढ महिनासम्म मुला स्टोर गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर