Aamsanchar

सुत्केरीलाई वडाकाे भाले उपहार

Author Image
शनिवार, माघ १२, २०८१

इलाम-इलामको चुलाचुली गाउँपालिका –५ की रुमा राईको आर्थिक अवस्था दयनीय छ । बिहान बेलुकाको छाक टार्न धौधौ पर्ने रुमा सुत्केरी हुँदा वडाअध्यक्षसहित स्थानीयले उहाँलाई घरमै भाले कुखुरा उपहार दिनुभएको छ ।

चुलाचुली –५ का वडाध्यक्ष बविन राई सहितका जनप्रतिनिधले भाले, घिउ र हर्लिक्स बोकेर घरमा आएको उहाँले बताउनुभयो । घरमै पोसीलो खानेकुरा पाउँदा खुशी लागेको रुमाले बताउनुभयो । रुमाले भन्नुभयो, ‘घरमा कोही नहुँदा र खानेकुराको अभावका बेला पोसिलो खानेकुरा पाउँदा नजिकको सरकार साथमै रहेछ भन्ने महसुस भएको छ ।’

रुमा मात्र होइन, चुलाचुली –५ चपेटीका धनकुमारी राईको कथा पनि उस्तै छ । सामान्य परिवारका धनकुमारी सुत्केरी भएको बेला जनप्रतिनिधिको समूह घरमै पुगेर पोसिलो खानेकुरा दिँदा उहाँलाई पनि सरकार साथमै रहेको महसुस भएको बताउनुभयो ।

चुलाचुलीले आर्थिक बर्ष २०८०–८१ बाट सुरक्षित मातृत्व प्रसुति स्याहार कार्यक्रम सुरु गरी घरमै पोसिलो खानेकुरा बिवतरण गर्न थालेको छ । सुरक्षित मातृत्व र जन्मदर्तालाई प्रभावकारी बनाउन वडाले सुरु गरेको कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०८०–८१ मा ४५ जना सुत्केरीलाई भालेसहितको पोसिलो खानेकुरा बिवरण गरिएको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा वडाका २५ जना सुत्केरीलाई भाले, घिउ र हर्लिक्ससहितका पोसिलो आहार बितरण गरी सकिएको वडा ५ का वडाध्यक्ष बविन राईले जानकारी दिनुभयो । वडाका मांसाहारी सुत्केरीलाई घरमै गएर वडाले एउटा भाले, एक किलोग्राम घिउ र आधा किलोग्राम हर्लिक्स दिइने गरिएको छ ।

साहाकारी सुत्केरीलाई वडाले दुई किलोग्राम घिउ र एक किलोग्राम हर्लिक्स बितरण गर्दै आएको छ । बच्चा जन्मिएको ३५ दिन भित्रमा वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्ने सरकारको नियमलाई प्रभावकारी बनाउन वडाले उक्त अभियान सञ्चालन गरेको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

उहाँले सो कार्यक्रम सञ्चालन गरिए पनि जन्मदर्ता समयमै गराउने गरिएको, स्वास्थ्य स्वयम्सेवीका वडामा परिचालित भएको, स्वास्थ्य संस्थामै गएर गर्भवती जाँच गराउनेक्रम बढेको र सुत्केरी आमाको खानपानमा सुधार भएर बच्चाको स्याहार पुगेको बताउनुभयो ।

‘गाउँघरमा गर्भवती छु भन्नै लजाउने चलन अझै छ, यो कार्यक्रम सुरु भएपछि निर्धक्क भएर वडाका स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन महिला आउन थाल्नु भएको छ’ वडाध्यक्ष राईले भन्नुभयो । कार्यक्रम सुरु हुनुअघि धेरैजसो महिलाले बच्चा घरमै जन्माउने चलन थियो ।

वडाध्यक्ष राईले अहिले सुत्केरी महिलाले आईरन चक्की र भिटामिन नियमित सेवन गर्ने गरेको बताउनुभयो । वडाध्यक्ष राईले भन्नुभयो, ‘स्वास्थ्य बच्चा जन्मियो भने वडा, पालिका हुँदै देशै स्वथ्य हुन्छ ।’ चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले वडाले गरेको सुत्केरी स्याहार कार्यक्रम प्रभावकारी देखिएकाले पालिकाले आउने बर्ष सबै वडामा सो कार्यक्रम सञ्चालन गर्न प्रेरित गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर