




काठमाडौँ – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कवाडीमाथि डोजर चलाएर हिट्लर शैली अपनाएको भन्दै हिम्मत भए शीतल निवास र सिंहदरबार भत्काएर देखाउन चुनौती दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले मेयर शाहलाई यस्तो चुनौती दिएका हुन् ।

‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिट्लरको शैलीमा हिजो माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए’, उनले भने, ‘ घाइते हुने मजदुरमा मुस्लिम पनि छन्, दलित पनि छन्, मधेसी पनि छन् ।’


उनले गरिब जनतामाथि डोजर चलाउने बालेनलाई चुनौती दिँदै हिम्मत भए सिंहदरबार र शीतलनिवास भत्काउन चुनौती दिए । ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ’, उनले भने, ‘काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’

