




कास्की – नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पंछी समाजका अध्यक्ष एवम् चराविज्ञ मनशान्त घिमिरे, हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा कृष्णवक्ष चाँचर चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो ।

समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको बताउनुभयो । २०७८ फागुन २५ गते चराविज्ञहरु सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलेख गरेको जानकारी दिनुभयो ।

चाँचर चरा भारतदेखि पूर्व बङ्गलादेश, भूटान, म्यान्मार, लाओस, थाइल्यान्ड र भियतनामसम्म तथा उत्तरमा चीनदेखि दक्षिण कोरियासम्म पाइन्छ । यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रमा विचरण गर्ने गर्छ । यो चरालाई अङ्ग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेट थ्रस’ भनिन्छ ।


कोशी प्रदेशको मोरङ र सुनसरीमा अवस्थित समुन्द्री सतहबाट एक सयदेखि एक हजार तीन सय मिटरसम्म झन्डै ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको चराविज्ञ घिमिरेले बताउनुभयो ।