




पोखरा – अर्थमन्त्री विष्णु पौडेललाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटन गर्ने क्रममा अर्थमन्त्री पौडेल घाइते भएका थिए। अर्थमन्त्री सचिवालयका अनुसार पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको हो।

शनिबार पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरुप बेलुनको झुत्तो उडाउन लागेका थिए। झुत्तो पोखराका मेयर धनराज आचार्यले मन्त्री पौडेललाई हस्तान्तरण गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो। त्यही आगोले बेलुनको झुत्तो पड्किएको थियो।


बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयरलाई पनि सामान्य चोट लागेको हो। गालामा आगोले चोट पुगेपछि मन्त्री पौडेललाई उद्घाटन समारोहबा अस्पतालमा पुर्याइएको थियो। पोखराका सहायक सिडिओ शिव लम्सालका अनुसार सामान्य घाइते भएका मेयर आचार्यलाई पनि थप उपचारका लागि काठमाडौं पठाइएको छ।

