




काठमाडौं – राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेको थिए। उनले रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेको समेत बताए। उनले कुटपिट गरिएको प्रति घोर आपत्ति जनाउँदै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरे।

उनले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए।


उनले सरकारले घटनाबारे आवश्यक अनुसन्धान गरी नेपाली विद्यार्थीलाई अलपत्र पार्ने काम गरेको विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न कूटनीतिक पहल गर्न माग गरे।