Aamsanchar

प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ को प्रचार सामग्रीमा रोक लगाएपछि…

Author Image
बुधवार, फागुन ७, २०८१

काठमाडौँ – नेपाल चलचित्र निर्देशक समाजले अदालतले प्रदर्शनमा आउन लागेको ‘लाज शरणम्’ को प्रचार सामग्रीमा रोक लगाएपछि चलचित्रको करोडौँ लगानी जोखिममा परेको जनाएको छ।

समाजले एक विज्ञप्ति जारी गर्दै उच्च अदालत पाटनले त्यस्तो रोक लगाएपछि यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको पनि जनाएको छ।

समाजले उच्च अदालत पाटनको संयुक्त इजलासले प्रदर्शोन्मुख चलचित्र लाज शरणम्‌को प्रचार सामाग्रीसमेतमा रोक लगाउन मंगलवार गरेको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

‘चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै छ, यसरी बनेका कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार, संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्नलाई चलचित्र विकास बोर्ड र चलचित्र जाँच पास समिति आदि सरकारी निकाय अस्तित्वमा छन्, कुनै चलचित्रले माथि भनेझैँ व्यक्ति वा समुदायको मानमर्दन गर्ने अभिप्राय राखेको छ भने चलचित्र जाँच पास समितिसँग यस्ता चलचित्रको प्रदर्शन रोक्का गर्ने अधिकार निहित हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

तर यो प्रक्रियामा नपुगीकन फाट्टफुट्ट आएका प्रचार सामाग्रीका भरमा चलचित्रमाथि अंकुश लगाउने निवेदकको मनसायअनुरूप आदेश जारी हुँदा चलचित्रको करोडौँ लगानी जोखिममा परेको समाजले जनाएको छ।

‘यसअघि पनि चलचित्र क्षेत्रलाई विभिन्न रुपमा आक्रमण गर्ने, चलचित्र क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने गतिविधिको पनि घोर भर्त्सना गर्दै भविष्यमा आउने सक्ने सम्भावित चुनौतीहरुलाई मध्येनजर गरी परिपक्वताका साथ काम गर्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

हिजो (मंगलवार)पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमको मुद्दामा सुनुवाइ गर्दै पाटन उच्च अदालतले लाज शरणमको प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको दिएको थियो। उक्त फिल्म फागुन १४ बाट प्रदर्शनमा आउने तयारीमा थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर