



धरान – राष्ट्रपति रामचन्द्र पौडेल धरान आउने भएपछि यहाँको सुरक्षा व्यवस्था चु्स्त पारिएको छ । राष्ट्रपति पौडेल भोलि शुक्रवार धरानको राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न आउने भएका छन् ।

राष्ट्रपति पौडेलले धरान आउने भएपछि धरान उपमहानगरपालिकाको सुरक्षा व्यवस्था राम्रो बनाइएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। उनले राष्ट्रपति धरान आउने भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर धरानमा प्रयाप्त प्रहरी परिचालन गरिएको बताए ।


राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरान आउने भएका हुन्। उनले धरान-८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला, स्वर्ण स्तम्भ र गोपी स्मारक ध्यान साधनालयको समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शैलेशकुमार आचार्यले जानकारी दिएका छन्। राष्ट्रपति धरान आउने भएपछि सितल निवासबाट राष्ट्रपतिका एडिसिहरु आएर कार्यक्रम स्थलको निरीक्षण गरी थप सुरक्षा व्यवस्था मजमुत बनाइरहेका छन् ।


मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरिने धरान-९ का वडाअध्यक्ष रुपेश आचार्यले बताए । मन्दिरमा शुक्रबारदेखि आइतबारसम्म श्रीमततारम सागर तथा श्रीमद्भभागवत महापुराणको त्रिदिवसीय अखण्ड पाठ पारायण साथै ब्रह्मलीन परमहंस बाबाजी श्री १०८ गोपीदास जी महाराजको पावन स्मृतिमा पाठ साथै विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरिने अध्यक्ष आचार्यले बताए ।
धर्मशाला ३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्मन्न गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए । धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने उनले बताए ।