




आज (चैत्र ६) बिर्तामोडमा आयोजित उक्त कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञ, पत्रकार, र स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थितिमा स्थानीय सञ्चार नीति निर्माण, सूचना प्रवाहको पारदर्शिता, र पत्रकारितामा सुधारका लागि विभिन्न महत्त्वपूर्ण विषयहरूमा गहन छलफल गरिएको थियो ।


नेपाल पत्रकार महासंघ, झापा शाखाले स्थानीय सञ्चार माध्यमहरूको प्रवद्र्धनका लागि नीति निर्माण आवश्यक रहेको बताउँदै निम्न मागहरू अघि सारेको छ ।
महासंघका अध्यक्ष एकराज गिरीले प्रस्तूत गरेको कार्यपत्रमा उल्लेख भए अनुसार प्रत्येक स्थानीय तहले पारदर्शी सूचना प्रवाह हुने स्पष्ट नीति ल्याउनुपर्ने। यसबाट सूचना प्रवाहमा पारदर्शिता र स्थानीय जनता माझको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै सूचना अधिकारीहरूलाई सक्रिय र जिम्मेवार बनाएर सूचनाको हकलाई प्रभावकारी बनाउनुपर्ने। यसले स्थानीय सरकारसँग सञ्चारकर्मीहरूको समन्वय र सशक्त संवादको वातावरण सिर्जना गर्नेछ ।
स्थानीय तह र सञ्चारकर्मीहरू बीच निरन्तर संवाद र समन्वयको कार्यक्रमहरू व्यवस्थित गर्नुपर्ने। यसबाट पत्रकारिता क्षेत्रमा उत्पन्न हुने समस्या र समाधानहरूको बारेमा सहज तरिकामा छलफल गर्न सकिनेछ ।


सरकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र समान बनाउँदै जिल्ला स्तरका सञ्चार माध्यमलाई समान अवसर प्रदान गर्नुपर्ने। यसले स्थानीय सञ्चारको सशक्तिकरणमा मद्दत पुर्याउनेछ ।
स्थानीय तहका विकास, शिक्षा, स्वास्थ्य, र पूर्वाधारका समाचारलाई प्राथमिकता दिनुपर्ने। यसले स्थानिय जनतालाई उनीहरूको आवश्यकता र समृद्धिको बारेमा जानकारी पुर्याउने छ ।
झापाका १५ वटा स्थानीय तहमध्ये १३ वटा पालिकाबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, र प्रमुख प्रशासकिय अधिकृतहरूको सहभागिता रहेको थियो। कार्यक्रमका मुख्य सहभागीहरूमध्ये बिर्तामोड, कनकाई, अर्जुनधारा, भद्रपुर, शिवसताक्षी, दमक, गौरादह नगरपालिका र बुद्धशान्ति, कचनकवल, हल्दिबारी, बाह्रदशी, झापा, कमल गाउँपालिकाका जनप्रतिनिधिहरू रहेका थिए ।
कार्यक्रममा सहभागिता जनाएका स्थानीय सरकारका प्रमुखहरू, उपप्रमुखहरू, र अन्य प्रतिनिधिहरूले सञ्चार क्षेत्रमा सुधारका लागि कानुनी मापदण्ड र नीति निर्माणको आवश्यकता औंल्याए। उनीहरूले भने कि स्थानीय सञ्चार नीति कार्यान्वयनका लागि स्रोतसाधन र आवश्यक पहलका लागि अझै छलफल र योजनाका तयारी गरिनु पर्ने छ ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले स्थानीय सञ्चार क्षेत्रलाई राजनीतिक प्रभावबाट स्वतन्त्र राख्दै सत्य र तथ्यमा आधारित पत्रकारिताको प्रवद्र्धन गर्नुपर्ने धारणा राखे। साथै, उनले सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना न्यूनीकरणका लागि डिजिटल पत्रकारिताका लागि कानुनी व्यवस्था आवश्यक रहेको बताए।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले भने, “पत्रकारहरूको लेखाइ तथ्यमा आधारित हुनुपर्छ। पछिल्लो समय झापाली पत्रकारिता यथार्थ र तथ्यमा आधारित रहन सकेको छैन। यसबाट पत्रकारिताको गरिमा घट्दै गइरहेको छ, जसले लोकतन्त्रलाई समेत कमजोर बनाउन सक्छ।“
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, बिर्तामोड कार्यवहाक प्रमुख नगेन्द्र संग्रौला, गौरादहका प्रमुख छत्रपति अधिकारी, अर्जुनधारा उपप्रमुख खड्गमाया पराजुली, दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, हल्दिबारी अध्यक्ष रविन्द्र लिङदेन, झापा कार्यवहाक अध्यक्ष अञ्जुदेवी थपलिया, कचनकवल उपाध्यक्ष नवराज भट्टराई, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानले स्थानीय सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन कानुनी मापदण्ड, नीति निर्माण, र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालेका थिए ।
यस कार्यक्रमले झापाका स्थानीय सञ्चार क्षेत्रको सशक्तिकरण र सुधारका लागि महत्त्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको सहभागीहरुको भनाई छ ।




































