Aamsanchar

मन्दिरसम्म जाने पैदलमार्गमा सर्वसाधारणसँग रकम नलिन निर्देशन

Author Image
बुधवार, चैत ६, २०८१

काठमाण्डौ – मकवानपुरको थाहा नगरपालिकाले भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा सर्वसाधारणसँग रकम नलिन निर्देशन दिएको छ ।

थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङ भञ्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर चन्द्रागिरि हिल्स प्रालिले सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएपछि यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ ।

मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ असूली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाण्डौमा केबुलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सलाई पत्र पठाएर रकम असूली तत्काल रोक्न भनेको वडाध्यक्ष राजकुमार बलामीले जानकारी दिनुभयो । पत्रमा पैदलमार्गबाट मन्दिरमा जाने बाटोमा कुनै रोकावट नगर्न भनिएको छ ।

यसअघि वडाध्यक्ष बलामीले सूचना निकालेर वडा कार्यालय र चन्द्रागिरि हिल्स प्रालिबीच भएको सहमतिबमोजिम नै शुल्क लिएको भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाउनुभएको थियो । उहाँले चन्द्रागिरि हिल्ससँग शुल्क लिनेबारे थाहा नगरपालिका–९ वडा कार्यालय तथा वडाध्यक्षबाट कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ ।

मन्दिरमा गएको र वन क्षेत्रमा हिँडेको समेत रसिद काटेर यात्रुसँग असूली गरेको भन्दै सार्वजनिक रूपमा चन्द्रागिरि हिल्सको विरोध हुन थालेपछि वडा कार्यालयले सात दिनभित्र चेकपोइन्ट हटाउन भनेको छ । अहिले प्रयोग भइरहेको पैदालमार्ग केबुलकार बनाउनुअघि नै सञ्चालनमा थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर