




विराटनगर- महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भएका छन् । यादव १ हजार १ सय १८ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेविसंघ उम्मेदवार प्रज्वलजंग विष्टले १ हजार ७५ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका अनेरास्ववियु उम्मेदवार अनिश बोगटीले २ सय ३२ मत प्राप्त गरे । महेन्द्र मोरङमा नेविसंघको डाक्टर शेखर कोइराला पक्षले योगराज दाहाललाई उम्मेदवार बनाएको थियो । दाहालले ६० मत प्राप्त गरे ।

कुनै समय नेता उत्पादन गर्ने थलोको रुपमा परिचित महेन्द्र मोरङमा यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए । त्यसबेला अखिल क्रान्तिकारीले अखिलसँग तालमेल गरेको थियो । यो पटक एक्लै चुनाव लडेर इतिहास रचेको अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादवले बताए । उनी महेन्द्र मोरङको चुनावी कमाण्डर थिए । गत मंसिरमा भएको स्थानीय तह उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष जितेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ को अवस्था फर्कने बताउँदै आएका छन् । महेन्द्र मोरङको चुनाव जितेपछि २०६५ को अवस्था फर्किएको यादव बताउँछन् । माओवादी केन्द्र कोशी प्रदेशका सचिव गणेश उप्रेती पनि विद्यार्थी राजनीतिमा २०६४ कै अवस्था फर्किएको बताउँछन् ।


‘ऐतिहासिक उपलब्धि’


अखिलबाट स्ववियु सभापति जितेका यादव यसअघि पनि सभापतिको उम्मेदवार थिए । त्यसबेला उनी नेविसंघ उम्मेदवार जसवन्त पौडेलसँग पराजित भए । यो पटक पौडेलले नै उठाएका उम्मेदवारलाई पराजित गर्दै सभापति निर्वाचित भए । उनको जितलाई माओवादी केन्द्रका नेताहरुले ‘ऐतिहासिक’ उपलब्धि भएको दाबी गरेका छन् । मोरङमा निर्वाचन भएका ९ वटा क्याम्पसमध्ये अखिल क्रान्तिकारीले तीन आंगिकसहित पाँच वटा क्याम्पस जितेको छ । ३ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियुले जितेका छन् ।
महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले त्रिवि आंगिक क्याम्पस डिग्री कलेज, नर्सिङ क्याम्पस, कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस र मिक्लाजुङको मिक्लाजुङ क्याम्पसको सभापति जितेको छ ।
रमाइलो बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै, विराटनगरको डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रितम साहको प्यानलै र विराट नर्सिङ कलेजको अध्यक्षमा क्रान्तिकारीका रोहितकुमार ताजपुरिया निर्वाचित भए । केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका संगम कन्दङ्वा, सुकुना क्याम्पसको सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन् ।
उर्लाबारी क्याम्पसको सभापतिमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई, लेटाङ क्याम्पसको सभापति नेविसंघका लेखनाथ दाहाल निर्वाचित भए ।
राष्ट्रिय राजनीतिका हस्ती जन्माएको महेन्द्र मोरङ
२०१२ सालमा स्थापना भएको महेन्द्र मोरङ क्याम्पसमा २०३६ सालमा पहिलो पटक स्ववियु निर्वाचन भएको थियो । त्यसबेला ध्रुवनारायण श्रेष्ठ स्ववियु सभापति भए । २०३८ सालमा स्ववियु विजयकुमार गच्छदारको समूहले कब्जा गर्यो । पूर्वस्ववियु सभापति महेश रेग्मीका अनुसार २०३८ असोजमा भएको स्ववियु निर्वाचनमा सीताराम पोखरेलले जित्ने अवस्था थियो । तर मध्यरातमा मतपत्र जलाएर जबरजस्ती गच्छदारलाई सभापति घोषणा गरियो । तर उनले काम गर्न पाएनन् ।
२०४० मा भएको निर्वाचनमा सभापतिमा भरतराज पोखरेल निर्वाचित भए । पोखरेलकै समितिको कोषाध्यक्ष थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । २०४१ सालको स्ववियु सभापति रमेश भट्टराई निर्वाचित भए । २०४३ को स्ववियु सभापति भुराज राईले जितेका थिए । विराटनगरको पूर्वउपप्रधानपञ्च बनेका उनी पछिल्लो समय एमालेको राजनीतिमा छन् ।
२०४५ मा महेश रेग्मी निर्वाचित भए । उनले २०४९ सालसम्म सभापति चलाए । उनी नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य छन् । २०४९ सालको निर्वाचनमा यदु विष्ट सभापति निर्वाचित भए । उनी नेपाली कांग्रेसको राजनीतिमा छन् । विष्टपछि २०५१ सालको स्ववियु निर्वाचनमा गुरुराज घिमिरे निर्वाचित भए । उनी पनि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा छन् ।
२०५३ सालमा ऋषिकेश पोखरेल निर्वाचित भए । एमाले सांसद पोखरेल संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन् । २०५५ सालमा उपेन्द्र गच्छदार निर्वाचित भए । उनी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । २०५७ सालको निर्वाचनमा सागर थापाले सभापति जिते । उनी एमालेको वर्तमान जिल्ला उपाध्यक्ष हुन् ।
२०६२ सालको स्वविय निर्वाचनमा भीम पराजुली निर्वाचित भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुली कोशी प्रदेशको वर्तमान सांसद हुन् । २०६५ सालको स्ववियु निर्वाचनमा जयराम सुन्दास निर्वाचित भए । नेकपा माओवादी केन्द्रमा आवद्ध उनी राजनीतिमा कम र वकालत पेशामा बढी सक्रिय छन् ।
१४ वर्षपछि २०७९ साल भएको निर्वाचनमा जसवन्त पौडेल विजयी भएका थिए । २०८१ को स्ववियु निर्वाचनमा रोहित निर्वाचित भए ।
सुकुनामा बाबु–छोरा नै सभापति
मोरङको सुन्दरहरैंचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु उम्मेदवार एलिस ओझा निर्वाचित भए । एलिस ९८५ मतसहित विजयी हुँदा नेविसंघ उम्मेदवार विजय ओझाले ६८६ मत प्राप्त गरे । सभापतिमा निर्वाचित एलिस एमाले मोरङका नेता तथा पूर्वसांसद राजकुमार ओझाका छोरा हुन् ।
एलिसले सभापति जितेको स्ववियुको तीन कार्यकाल उनका बुबाले चलाएका थिए । २०४९ को निर्वाचनमा एलिसका बुबा राजकुमार स्ववियुका उपसभापति थिए । २०५१ र २०५३ मा पनि उनी स्ववियु सभापतिमा निर्वाचित भए ।
गत मंगलबार भएको निर्वाचनमा उनका छोरा एलिस स्वविय सभापति निर्वाचित भएका हुन् । २०४९ सालयता सुकुना बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन वामपन्थी उम्मेदवारले जितिरहेका छन् ।