Aamsanchar

ताप्लेजुङको नयाँ झोरेनीमा चौँरी तथा याक प्रदर्शन हुने

Author Image
बिहिवार, चैत ७, २०८१

फुङ्लिङ- ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ यम्फुदिन स्थित नयाँ झोरेनीमा चौँरी तथा याक प्रदर्शन हुने भएको छ । तीन हजार ३०७ मिटर उचाइमा रहेको नयाँ झोरेनीमा आगामी वैशाख १४ र १५ गते चौँरी तथा याक प्रदर्शन हुने भएको हो ।

सिरिजङ्घा महोत्सव २०८२ को अवसरमा चौँरी तथा याक प्रदर्शन गर्न लागिएको सिरिजङ्घा गाउँपालिका उपाध्यक्ष डा चित्र माबोले बताउनुभयो । उहाँका अनुसार लोप हुन लागेको याक र चौँरीलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । हिमाली क्षेत्रको आर्थिक समृद्धि मुख्य आधारको रूपमा लिइएको चौँरी तथा याक पालन व्यवसाय, हालको अवस्थामा दिन प्रति दिन निरन्तर रूपमा लोप हुँदै गएको हुनाले प्रदर्शन गर्न लागिएको उहाँको भनाइ छ ।

साथै यस अघि गाउँपालिकाले कृषकहरूलाई अनुदान स्वरूप दिइएको चौँरीको अवस्था बुझ्नको लागि पनि प्रदर्शनलाई प्राथमिकता दिइएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ । चौँरी प्रर्दशनमा पुरस्कारको व्यवस्था समेत गरिएको छ । प्रथम पुरस्कार २८ हजार ५८६ रुपियाँ रहेको छ भने सान्त्वना स्वरूप आठ हजार ५८६ रुपियाँ रहेको छ । पुरस्कार सबैभन्दा धेरै चौँरी तथा याक पाल्ने कृषकको आधारमा प्रदान गरिने छ ।

आजभोलि चौँरी गोठहरू सीमित मानिसहरूले मात्र सञ्चलन गरेको पाइन्छ । चरान क्षेत्रहरू प्रशस्त मात्रमा भएता पनि बिस्तारै, बिस्तारै हिमाली भेगका मानिसहरू सेवा सुविधा तथा रोजगारको सिलसिलामा सहर केन्द्रित भएको हुँदा यो समस्या सृजना भएको हो । चौँरी पालन व्यवसाय, कृषिसँग मात्र सम्बन्धित नभई पर्यटन जलधार तथा हिमाली वातावरणसँग पनि जोडिएको विषय भएका कारण महोत्सवको अवसरमा प्रदर्शन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । चौँरी तथा याक पालन क्षेत्र पूर्वको ताप्लेजुङलाई पनि प्रमुख क्षेत्रको रूपमा लिने गरिन्छ ।

विश्वको तेस्रो अग्लो हिमशृङखला कञ्चनजङ्घामा पर्यटक भित्र्याउने र जलवायु परिवर्तनको असर बारे अध्ययन गर्ने उद्देश्यसहित मिति २०८२ साल वैशाख ५ गतेदेखि १५ गतेसम्म सिरिजङ्घा महोत्सव २०८२ को आयोजना गर्ने भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर