Aamsanchar

नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग खेल्दै

Author Image
शुक्रवार, चैत ८, २०८१

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार आज बेलुका सवा ६ बजे शुरू हुनेछ ।

नेपाल पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको छ । नयाँ प्रशिक्षक म्याट रोस नियुक्त भएपछि नेपालको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । नेपाली टोली किरण चेम्जोङको कप्तानीमा छ । नेपालले ३६ वर्षपछि सिंगापुरसँग फुटबल खेल खेल्न लागेको हो ।

यसअघि पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिंगापुरबीच खेल भएको थियो । नेपाल र सिंगापुरले अहिलेसम्म चार पटक खेल्दा तीन खेलमा नेपाल पराजित भएको थियो भने एक खेल बराबरी भएको थियो ।

सिंगापुरसँगको खेलमा नेपालले अहिलेसम्म गोल फर्काउन सकेको छैन । फिफा वरियतामा नेपालभन्दा सिंगापुर १५ स्थान माथि छ । सिंगापुर १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ ।

एएफसी एशियन कप छनोटअन्तर्गत मलेसियासँग समूह चरणको पहिलो खेल खेल्नुअघि नेपालले तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ देखि शुरू हुँदैछ ।

एशियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एशियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् ।

होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एशियन कपमा छनोट हुनेछन् । एशियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर