Aamsanchar

कोशीको अधिवेशन अनिश्चितकालका लागि अन्त्यप्रति माओवादीको आपत्ति

Author Image
शुक्रवार, चैत ८, २०८१


विराटनगर – गत २७ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि धन्यवाद ज्ञापन गरेर अनिश्चितकालका लागि स्थगित भएको कोशी प्रदेशसभाको चालु तथा छैटौं अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।

एक्कासि अधिवेशन अन्त्य गरेको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलले भने आपत्ति जनाएको छ । सरकारको अक्षमताको विषयमा सार्वजनिक आलोचना हुने भएपछि अधिवेशन अन्त्य गरेको आरोप माओवादी केन्द्रको छ ।

‘दोस्रो प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भइसक्दासमेत प्रदेशसभा सञ्चालन नियमावली पारित गर्ने प्रयास नहुनु आश्चर्यजनक छ । साथै, सांसदहरूले गैरसरकारी विधेयकको रूपमा प्रदेशको कामकाजी भाषा सम्बन्धी विधेयक दर्ता गरे पनि त्यसलाई छलफलमा लैजानु त परे जाओस्, बैठकमै पेश नगरी अधिवेशन अन्त्य गर्नु सरकारको कानुन निर्माणप्रति असंवेदनशीलता दर्शाउँछ,’ माओवादी केन्द्र प्रमुख सचेतक गीता तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘सरकारको कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढिरहेका बेला प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई वेवास्ता गर्दै अधिवेशन अन्त्य गर्नु अत्यन्त आपत्तिजनक छ,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

सरकारप्रति जनताको विश्वास खस्कँदै गएको अवस्थामा जनताको सरोकार र मुद्दा उठ्ने प्रदेशसभा जस्तो लोकतान्त्रिक मञ्चलाई निष्क्रिय बनाउनु गम्भीर भएको माओवादीको दाबी छ । ‘यसले सरकारको असफल कार्यक्षमता उजार मात्र गरेको छैन, जिम्मेवारी पुरा गर्न पूर्ण रुपमा असफल भएको देखिएको छ,’ माओवादी केन्द्रले भनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर