




काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ । बिहीबार होटेल हिमालयमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन् ।

क्लबको दुई जर्सी सार्वजनिक गरिएको छ । एउटा रातो र कालो छ भने अर्को सेतो र रातो छ । जर्सीमा नेवारी हाकुपटासीको रङ झल्किन्छ ।


जर्सी अनावरण कार्यक्रममा जर्सीको अक्सन पनि गरिएको थियो । इंग्ल्यान्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेन्डर रियो पर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी कार्यक्रममा अक्सन गराइएको थियो ।


उक्त जर्सीको बेस प्राइज ५० हजार राखिएको थियो र हरेक बिडमा ५ हजार थपिँदै गएको थियो । धेरैले उक्त जर्सी लिन चाहेका थिए । अन्तिममा सरोज कार्की ले एक लाख १५ हजार बिड गर्दै जर्सी लिन सफल भए ।
उनले आफू पहिलादेखि नै म्यानचेष्टर युनाइटेड र रियो फर्डिनान्डको फ्यान भएको र उनले केही राम्रो गोल गर्दै टिमलाई जिताएको स्मरण गर्दै जर्सीका लागि एक लाखभन्दा माथि खर्च गरेको बताए ।
ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ छन् । ललितपुर सिटी एफसीले चैत १६ गते उद्घाटन खेल खेल्नेछ । उक्त खेल ललितपुरले काठमाडौं रेजर्स एफ सि विरुद्ध खेल्नेछ ।