Aamsanchar

प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईको उम्मेदवारी

Author Image
शुक्रवार, चैत ८, २०८१

 

काठमाडौं-  प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् । संगठनका उपाध्यक्ष रहेका राईले लामो पृष्ठभूमि सहित विराटनगरमा पर्सि १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । पार्टी नेतृत्वले सर्वसहमतिको प्रयत्न गरे पनि आफू योग्य रहेको र नभए प्रतिनिधिहरूले निर्णय लिने उनको विश्वास छ । ‘अहिलेसम्म पार्टी नेतृत्वरसंगठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ– प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उल्टियो सचिवालय निर्णय

एमालेकै पार्टी निर्णय उल्टिएपछि उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि उनै राईलाई चौतारीको अध्यक्ष बनाउनेगरी एमालेले निर्णय गरेको थियो ।

गत १८ फागुनमा एमाले सचिवालय बैठकले अध्यक्ष पदका अर्का आकांक्षी गणेश पाण्डेलाई प्रचार विभागको सचिव पदमा नियुक्त गरेको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्राप्त रिपोर्टिङका आधारमा पाण्डेलाई प्रचार विभाग सचिव नियुक्त गर्ने निर्णय अगाडि बढाएका थिए । सोही अनुसार केन्द्रीय कार्यालयबाट पाण्डेलाई प्रचार विभाग सचिवको प्रस्ताव सचिवालय बैठकमा लगियो र निर्णय भयो । पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ लिइसकेका छन् ।

चौतारीका उपाध्यक्ष पाण्डेलाई प्रचार विभाग सचिव बनाउँदा प्रेस चौतारी र एमाले पंक्तिमा राजेश राईलाई नै अध्यक्ष बनाउने तयारी रहेकै सन्देश गएको थियो । किनकि अरु दुई उपाध्यक्ष सविन प्रियासन र देविका घर्तिमगर नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा निर्वाचित भइसकेका छन् । सविन केन्द्रीय सचिव र देविका केन्द्रीय सदस्य छन् । अध्यक्ष पदका अर्का आकांक्षी हुन्, महासचिव हिरामान लामा । तर लामा र राईबीच एकअर्कालाई छोड्न समस्या नरहेको बताइरहेका थिए । राजेश राई सिनियर भएकाले उनलाई अध्यक्ष मानेर संगठनमा रहन लामा तयार रहेको स्रोत बताउँछन् ।

अर्थात् गणेश पाण्डे प्रचार विभाग सचिव नियुक्त भएपछि राई सर्वसम्मत अध्यक्ष बन्ने परिस्थिति सिर्जना भएको थियो । प्रमुख पदमा दोहोरो भूमिका लिन नहुने एमालेको वैधानिक व्यवस्था भएकाले पनि राईलाई चौतारीभित्र भावी अध्यक्षका रुपमा प्रचार गरिन थालेको थियो । तर नेताहरूका अनुसार ६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टिएको छ । बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यस रात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका छन् ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार एक हप्ता लामो प्रयत्नपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले एक हप्तादेखि विभिन्न तरिकाले छलफल गरिरहेका थियौं । अब (गणेश पाण्डे)चौतारीको अध्यक्ष हुने भएपछि प्रचार विभाग सचिव स्वतः रिक्त भयो,’ गौतम भन्छन् ।

यसरी अध्यक्ष ओलीले नै निर्णय सच्याएपछि राईले सामाजिक सञ्जाल मार्फत अध्यक्ष पदको घोषणा गरेका छन् । राई र पाण्डे अघिल्लोे राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी थिए । तर गणेश बस्नेत नै अध्यक्ष दोहोरिएपछि दुवै जना उपाध्यक्ष बसेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)