




काठमाण्डौ – निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सीमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर (चपुर) बजार नजिक रहेको जङ्गलसम्मको झन्डै ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई एक सय ३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

चालू रहेको पूर्व–पश्चिम एक सय ३२ केभी प्रसारण लाइनलाई ट्यापिङ गरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा ४०० केभी प्रसारण लाइनलाई एक सय ३२ केभीमा चार्ज गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ढल्केबरबाट पश्चिमतर्फ र पश्चिमबाट ढल्केबरतर्फ विद्युत् पठाउन अहिले रहेको पूर्वाधार संरचनाको बाधा हटाउन निर्माण सम्पन्न भएको ४०० केभीलाई एक सय ३२ केभीमा चार्ज गरिएको बताउनुभयो । अहिले देखिएको ऊर्जा अभावलाई समाधान गर्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट दिउँसो थप विद्युत् भारतबाट आयात गर्न सकिन्छ ।


धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको इनरुवा सबस्टेसम्मको एक सय ५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई गएको असारबाट सञ्चालनमा आइसकेको छ ।

