




ताप्लेजुङ- ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र)को तेस्रो पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्रको पालिका अधिवेशन शनिबार सुरु भएको हो ।

फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमको सिवा बजारमा सुरु भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व गृह, अर्थ तथा ऊर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर) ले गर्नुभयो । जिल्लाको एक भौगोलिक विकटता रहेको गाउँपालिकास्थित माओवादी पार्टीको पालिका अधिवेशन उद्घाटन गर्न पार्टीका प्रभावशाली नेता एवम् उपमहासचिव शर्मा पुग्नुभएको छ ।


अधिवेशनमार्फत माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन हुने माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो । पालिका कमिटीका वर्तमान अध्यक्ष एवम् फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले अधिवेशनमार्फत पार्टीको नयाँ कमिटी सर्वसम्मत चयन गर्नेगरी पहल भइरहेको जानकारी दिनुभयो ।


अधिवेशन उद्घाटनमा माओवादी केन्द्र कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पालगायतको उपस्थिति छ ।