




रौतहट- रौतहटको माधवनारायण नगरपालिका-३ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको छात्रावासमा एक छात्रा रहस्यमय अवस्थामा मृत फेला परेकी छन्। बाराको विश्रामपुर घर भएकी १८ वर्षीया सुमन कुमारी बैठा आज बिहान छात्रावासको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

गजेन्द्र नारायण स्मृति अस्पतालमा डिप्लोमा फार्मेसी प्रथम वर्षमा अध्ययनरत सुमनको शव फेला परेपछि घटनाले रहस्यको रुप लिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ। उनले सुमनले आत्महत्या गरेकी हुन् वा उनलाई कसैले जबरजस्ती झुण्ड्याएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताएका छन्।

घटनास्थलबाट संकलित प्रमाणका आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाइरहेको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने अनुसन्धानपछि मात्र वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।


यस घटनाले क्याम्पस तथा छात्रावासमा सुरक्षा व्यवस्थाको विषयमा गम्भीर प्रश्न उठाएको छ। मृतकका परिवारजनले छोरीको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। प्रहरी प्रशासनले सत्यतथ्य बाहिर ल्याउन गहिरो अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ।