Aamsanchar

धरानमा लेदुवा खोलामा निर्माणाधीन पुल ४ वर्षदेखि अलपत्र, ठेकेदार ८९ लाख लिएर बेपत्ता

Author Image
बिहिवार, चैत १४, २०८१

धरान- धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको सिरानमा रहेको लेदुवा खोलामा निर्माणाधीन पुल ४ वर्षदेखि अलपत्र छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा एक वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी २०७७ साउन १३ गते १ करोड २१ लख ८६ हजार ८ सय १३ रुपियाँमा वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो । तर ८९ लाख ५० हजार १ सय ७३ रुपियाँ रकम भुक्तानी लिएर निर्माण कम्पनी बेपत्ता भएका छन् ।

चार वर्ष बित्दासमेत पुल नबन्दा स्थानीयवासी सास्ती खेप्न बाध्य छन् । यता नियामक निकाय भने ठेकेदारकै पक्षमा उभिएर स्थानीयलाई दुःख दिने गरेको छ । स्थानीयको विरोधपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले उक्त पुलको अवस्थाको अनुगमन गर्नुभएको छ । तत्काल काम सक्न निर्देशन दिने र अटेर गरे ठेक्का तोड्ने समेत स्थानीयबासीलाई मन्त्री राईले आस्वसन दिनुभयो ।

धरान–५ लेदुवा खोलामा बन्दै गरेको १६ मिटरको पुल ५ नं.वडा वासीलाई मात्र नभई यो पुलले वडा नं.४ को वासीलाई पनि जोड्ने गर्दछ । उक्त पुल नबनेको कारण स्वास्थ्य, शिक्षा, कृषि लगायतमा ४ र ५ कै स्थानीयबासीहरुले सास्ती खेप्नुपरेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।

धरान पूर्वको चर्चित सहरको रूपमा परिचित भए पनि वडा नम्बर ४, ५ दुर्गम एरियामा पर्दछ । वडा नं. ५ को जनसङ्ख्या १५ हजार ८ सय र घरधुरी ३ हजार पाँच सय रहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । यहाँका कतिपय स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा वडाको काम लगायतमा बर्खा याममा जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता रहेकोले यो पुलबाट स्थानीयवासीले धेरै आशा राखेको भए पनि समयमा ठेकेदारले काम नसक्दा झनै समस्या भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।

पुल निर्माणका लागि दुई पटक म्याद थप गरिएको छ यता वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीका ठेकेदार पशुपति बरालले चाँडै सुरु गर्ने जनाएका छन् । उक्त खोलाका कारण धरान–५ को जरेआहाल, मुक्तिला, निशान डाँडाका स्थानीयहरूले उत्पादन गरेको सागसब्जी, दूध लगायत धरान बजारसम्म ल्याउन नसक्ने स्थानीय राजकुमार राईले बताउनुभयो । यस खोलाको असर धरान–४ का केही क्षेत्रका बासिन्दाहरूमा परे पनि प्रत्यक्ष मार भने धरान–५ का बासीहरूलाई पर्ने गरेको छ ।

विद्यालय जाने विद्यार्थीहरू, दुःखविमार हुँदा अस्पताल लैजाँदा समेत ज्यानै जोखिममा राखेर खोला तार्नुपर्ने बाध्यता रहेको स्थानीयवासी नरबहादुर मगरले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर