


फायल फोटो ।


काठमाडौँ । भोलि (चैत १५) काठमाडौँमा हुने राजावादी र गणतन्त्रवादी प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनस्थलहरूमा दुई हजार ५०० भन्दा बढी प्रहरी खटाउने तयारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार भृकुटीमण्डप र तीनकुने क्षेत्रमा हुने प्रदर्शनलाई नियन्त्रण गर्न सुरक्षाकर्मी तैनाथ गरिँदैछ। “सुरक्षाका लागि तयारी पूरा भएको छ। आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्न स्ट्यान्डबाई राखिएको छ,” प्रवक्ता आचार्यले भने।

यसैगरी, ट्राफिक व्यवस्थापनका लागि एक हजार ८०० ट्राफिक प्रहरी आलोपालो खटाइने छन्। बिहानैदेखि सवारी आवागमन प्रभावित हुन सक्ने अनुमान ट्राफिक प्रहरी कार्यालयले गरेको छ।


गणतन्त्र पक्षधर समाजवादी मोर्चाले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध भृकुटीमण्डपमा ११ बजे प्रदर्शन गर्नेछ भने राजावादी समूहका दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ले तीनकुनेमा दिउँसो १ बजे सभा आयोजना गर्ने कार्यक्रम तय भएको छ।