




काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि (चैत १५) काठमाडौँमा हुने गणतन्त्र पक्षधर र राजावादी दुवै प्रदर्शनमा आफ्नो कुनै सहभागिता नहुने स्पष्ट पारेको छ। पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले व्यवस्थाको पक्ष र विपक्षमा केन्द्रित प्रदर्शनमा सहभागी नहुने निर्णय गरेको बताएका छन्।

उनका अनुसार, रास्वपा सरकारविरोधी शान्तिपूर्ण आन्दोलनमा नेतृत्व लिने तर भोलिको प्रदर्शन व्यवस्थामुखी भएकाले पार्टी तटस्थ रहनेछ। “हामी भ्रष्टाचारविरोधी र सुशासनका एजेन्डामा केन्द्रित छौँ। भोलिको प्रदर्शन व्यवस्थासम्बन्धी भएकाले हाम्रो सहभागिता रहने छैन,“ झाले भने।

यसअघि चैत १२ मा रास्वपाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा सरकारविरोधी प्रदर्शनमा ऐक्यबद्धता जनाएको थियो। झाले वर्तमान सरकारको औचित्यमाथि प्रश्न उठाउँदै भने, “गठबन्धन सरकारले आठ महिनामा कुनै ठोस उपलब्धि दिन नसकेकाले यसको औचित्य सकिएको छ।“

