




खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदरले क्षति नगर्ने तोरीखेती प्रवर्द्धन सुरु गरेको छ । अन्य बालीमा बाँदरले क्षति पुर्याउने भएकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत तोरीखेती प्रवर्द्धन सुरु गरेको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार तोरीमा सल्फर नामक तत्व हुने हुँदा बाँदर टाढा हुने भएकाले तोरीखेतीमा जोड दिइएको हो । नगरमा तोरी उत्पादनमा वृद्धि गरी बाहिरबाट आउने तोरीलाई रोकेर किसानको आयआर्जनमा वृद्धि गर्न समेत तोरीखेतीलाई प्रवर्द्धन सुरु गरिएको जैसीले बताए । उनले आगामी आर्थिक वर्ष तोरीखेतीसँग जोडर माहुरीपालन कार्यक्रम पनि राखिने जनाए । साथै तोरी चाँडो बिग्रने खेती नभई यसबाट दोहोरो फाइदा हुने भएकाले जोड दिइएको जैसीको भनाइ छ ।

‘तोरीमा सल्फर नामक तत्व हुन्छ, त्यसले बाँदर भाग्छ, बाँदर आतंकले किसान हैरान भएकाले तोरीखेतीमा जोड दिइएको हो,’ उनले भने, ‘आगामी वर्ष तोरीसँग जोडेर माहुरीपालन कार्यक्रम पनि गरिने छ ।’


गत वर्ष उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत दस जना सूचीकृत किसानलाई १ लाख ४४ हजार ८ सय ५५ रूपैयाँ दिएकोमा चालु आर्थिक वर्ष भने चार गुणा बढी किसानले आवेदन दिएको जैसीले सुनाए । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत प्रतिकेजी १५ रूपैयाँका दरले अनुदान दिइरहेको र यो वर्ष पनि सोही आधारमा अनुदान दिने उनको भनाइ छ ।
तोरीखेतीमा अनुदान पाएपछि आफूहरु उत्साहित भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्य गाउँका टीकाराम आचार्यले बताउँछन् । ‘उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानलाई हौस्याएको छ,’ उनले भने, ‘गत वर्ष पनि डेढरदुई लाख अनुदान पाइएको थियो, यो वर्ष पनि त्यो भन्दा बढी अनुदान पाइन्छ जस्तो लागेको छ ।’