

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनापछि राप्रपाभित्र आन्तरिक विवाद चुलिएको छ। पार्टी नेतृत्वले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाले पार्टीको निर्देशन विपरीत सर्वसाधारणलाई हिंसात्मक गतिविधितर्फ उक्साएको भन्दै आपत्ति जनाएको छ।


राप्रपाका शीर्ष नेताहरूले संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको बताउँदै आएका छन्। तर, शुक्रबारको घटनामा पार्टीका केही नेताहरूको संलग्नताको विषय चर्चामा आएपछि राप्रपाले विशेष कार्यसम्पादन बैठक बोलाएर घटनाको समीक्षा गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज (शनिबार) अपराह्न ३ बजे कार्यसम्पादन बैठक आह्वान गरेका छन्। बैठकमा तीनकुने घटनाका दोषी पहिचान गर्दै पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ।

राप्रपाका एक नेताले भने, “हिंसा कुनै पनि हालतमा स्वीकार्य छैन। पार्टीले शान्तिपूर्ण आन्दोलनलाई मात्र समर्थन गर्छ। केही नेताहरूको क्रियाकलापले पार्टीको छवि धमिल्याउने काम गरेको छ, त्यसैले यस विषयमा गम्भीर समीक्षा हुनेछ।”


वरिष्ठ उपाध्यक्ष मिश्रले आन्दोलनलाई स्वतःस्फूर्त बनाउनुपर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए। उनले पूर्वराजासँग समयमै समझदारी नगरे नेपालले बंगलादेश, सिरिया र श्रीलंकाको जस्तै परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
अध्यक्ष लिङ्देनले भने पार्टीले २६ चैत र ८ वैशाखमा आफ्नै नेतृत्वमा आन्दोलन गर्ने घोषणा गर्दै, हिंसात्मक गतिविधिमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएका छन्। अब पार्टीले मिश्र र राणाको भूमिकाबारे कस्तो निर्णय लिन्छ भन्ने चासोको विषय बनेको छ।