




काठमाडौं – थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर दिइएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककमा बुधबार बिहान गार्ड अफ अनर दिइएको हो।
समारोहमा थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात र मन्त्रीहरूसहित उच्च अधिकारीले स्वागत गर्नुका साथै गार्ड अफ अनर निरीक्षण गरेका थिए। नेपाल–थाइल्याण्ड कूटनीतिक सम्बन्धको ६५ वर्षको इतिहासमा पहिलोपटक नेपाली प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गरेका छन्।

आजै प्रधानमन्त्री ओली र थाइ समकक्षी शिनावातबीच भेटवार्ता हुँदैछ। यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ। यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् ।


प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली पाँच दिने औपचारिक भ्रमणका लागि मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन्।