




काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन्।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्। राजावादीहरुले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकाले पूर्वराजाको संलग्नता रहेको महामन्त्री शर्माले जिकिर गरे।

प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना महसुस हुनुपर्दैन भन्दै उनले प्रश्नसमेत गरे। उनले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रण्ले महिला राष्ट्रपति बनाएको उल्लेख गरे।


उनले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिहरुलाई सुधार गर्दै जानुपर्ने बताए। उनले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलहरुमा दलको नेतृत्व परिवर्तन हुने दावी गरे।
‘फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन ? छैन ररु उहाँलाई दुख्नु पर्दैन र? उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपर्दैन ? राज्यको सम्पत्ति तोडफोड हुँदा गम्भिर गल्ति भएको महशुस भएको छ भनेर बोल्नु पर्दैन?‚’ उनले भने, ‘संवेदनशीलता नै देखिएन। राजालाई राजगद्दिमा ल्याउने हो भने उहाँ मरेपछि को बस्ने, छोरा, नाति, पनाति। के यो देश पुरुषहरुको मात्रै हो ररु गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि तर राजसंस्थामा त कहिले पनि महिलालाई अवसर नआउने रैछ। नेताप्रति असन्तुष्टि छ, सरकारप्रति असन्तुष्टि छ। सुधार गर्नुपर्छ । ०८४ को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौं भनिराखेका छौँ नि तर राजगद्दिमा बसेको राजालाई त परिवर्तन गर्न सकिदैँन नि!’
तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ।