Aamsanchar

पर्यटक पुग्न नसक्दा ओझेलमा पर्दै मगर सङ्ग्रहालय

Author Image
बिहिवार, चैत २१, २०८१

पाख्रीबास-  पछिल्लो समय जातीय परम्परा र कला संस्कृति झल्काउने परम्परगत रूपमा चलिआएका पुरातात्त्विक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाउने गरिएको छ । कतिपय ठाउँमा पुरातात्त्विक वस्तु संरक्षण पनि गरिएको छ तर सङ्ग्रहालयमा आन्तरिक तथा वाह्य पर्यटक पुग्न नसक्दा ओझेलमा पर्दै गएको छ ।

यस्तै धनकुटा चौबिसे गाउँपालिका–२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय निर्माण गरिएको छ । पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण उक्त सङ्ग्रहालय ओझेलमा परेको हो । यहाँ करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । उक्त सङ्ग्रहालयमा बाबुबाजेभन्दा पहिले प्रयोग गरिएको ‘फाम’ अर्थात् दुध दुहुने भँडो , सगुन हाल्न प्रयोग गरिने ‘गरियो’ लगायतका करिब एक सयभन्दा बढी लोपोन्मुख सामग्री रहेको सङ्ग्रहालयका संरक्षक तथा गाउँपालिका उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताउनुभयो ।

सङ्ग्रहालय निर्माणका लागि चार वर्ष पहिले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्राप्त दस लाख रुपियाँ बजेटले काम थालनी गरिएको थियो । विभिन्न पर्यटकीय स्थल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका लागि त्यहाँ रहेको मगर सङ्ग्रहालयसमेत आकर्षण बन्न पुग्ने देखिन्छ । जिल्लामै सबैभन्दा बढी मगर जातिको बसोवास रहेको मुढेबासमा उक्त समुदायको वेशभूषा,भाँडाकुँडा , बाजा, पुराना हातहतियार, काठका सामग्रीलगायत लोपोन्मुख अवस्थाका वस्तु सङ्ग्रह गरिएका छन् । त्यसो त सङ्ग्रहालयमा मानिसका जन्मदेखि मृत्युसम्मका संस्कार समेटिने सामग्री रहेका छन् । यहाँ सुरक्षा, घरायसीमा प्रयोग हुने परम्परागत सामग्रीसमेत छन् ।

‘जातीय संस्कार संस्कृतिको जगेर्ना गराउने उद्देश्यले सङ्ग्रहालयको काम अगाडि बढाइएको र यसलाई अझ व्यवस्थित गर्न जुटिरहेका सङ्ग्रहालयका संरक्षक तथा गाउँपालिका उपाध्यक्ष पाङ्मी मगरले बताउनुभयो । त्यहाँ मगर जातिका चार÷पाँच पुस्ता पुराना सामग्री राखिएका छन् । आवश्यक बजेट अभावका कारण सोचे जति काम हुन नसकेको स्थानीय प्रेम मगरले बताउनुभयो । चार वर्ष पहिले प्राप्त दस लाख रुपैयाँ लागतमा भवन निर्माण साथै सङ्ग्रहालयमा आवश्यक सामग्री खरिद र व्यवस्थापनमा खर्च भएको जनाइएको छ ।

त्यसो त सङ्ग्रहालयका लागि आवश्यक र सुविधा सम्पन्न भवन चाहिने हुन्छ तर भवन काम चलाउ मात्र रहेको अवस्था छ । सामान्य जस्ताको पाताले छाएको भुइँतले घरलाई सङ्ग्रहालयका रूपमा प्रयोग गरिएको छ । सामग्री राख्ने दराजलगायतका सामग्रीको पनि अभाव रहेको छ । जसका कारण कतिपय सामग्री जोगाउन मुस्किल पर्ने स्थानीय मदन मगरले बताउनुभयो । भवन संरक्षण आवश्यक सामग्री खरिद गर्न आर्थिक वर्ष २०८१/८२ बाट चौबिसे गाउ“पालिकाले छ लाख रुपैयाँ  बजेट उपलब्ध गराएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिनुभयो ।

सङ्ग्रहालय क्षेत्रमा मुलुकभरकै मगर समुदायको भेला हुने र हुर्रालगायतका सांस्कृतिक गतिविधिसमेत हुने गरेको छ । उक्त पालिकाका सौर्य, मुढेबास, कोर्नालगायतका स्थानमा मगर बाहुल्य बसोवास रहेको छ । यहाँ मगर जातिको तीन सय घरधुरी रहेको पालिका स्रोतले जनाएको छ । जसमा एक हजार २०० को हाराहारीमा जनसङ्ख्या रहेको जनाइएको छ । हुर्रा नाच प्रवर्धनका लागिसमेत स्थानीयले गतिविधि गर्दै आएका छन् । मगर जातिको भाषा, कला, संस्कृतिबारे शोध तथा अनुसन्धना गर्ने तथा सङ्ग्रहालय अवलोकनका लागि कमै मात्रामा मानिस पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर