




मेचीनगर–७ स्थित राधाकृष्ण इण्डष्ट्रिजबाट उत्पादित उक्त चामलको नमूना उपभोक्ताको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर पठाइएको थियो। परीक्षणबाट चामलमा कुनै किसिमको मिसावट नरहेको र नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरूप रहेको प्रमाणित भएपछि उद्योगले राहतको अनुभूति गरेको छ।


गत चैत ३ गते मेचीनगर–१० को कट्टेल किराना पसलबाट खरिद गरिएको चामलमा प्लाष्टिकजन्य पदार्थ भएको आशंका गर्दै एक उपभोक्ताले गुनासो गरेका थिए। त्यसपछि मेची उद्योग वाणिज्य संघ, मेचीनगर नगरपालिका र इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा चामलको नमूना परीक्षणका लागि पठाइएको थियो।

परीक्षण प्रतिवेदन प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई चामल फुकुवा गर्न पत्र पठाइएको छ। त्यससँगै ‘उज्यालो’ चामल पुनः बजारमा आपूर्ति गर्न बाटो खुलेको छ।


शुक्रबार मेची उद्योग वाणिज्य संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष खेमराज प्रसाईले परीक्षण प्रतिवेदनले उद्योगको निष्कलंकताको पुष्टि गरेको बताए। उनले भने, “हामी सबै संयन्त्र सक्रिय भएर परीक्षणमा लाग्यौं र सत्य तथ्य बाहिर आएकोमा सन्तोष छ।”
राधाकृष्ण इण्डष्ट्रिजका सञ्चालक अरुणकुमार शाहले परीक्षणअघि सार्वजनिक रूपमा तथ्य नबुझी समाचार प्रकाशन हुँदा उद्योगले ठूलो नोक्सानी व्यहोर्नु परेको बताए। “गुमेको शाख फर्काउन सबै पक्षको साथ आवश्यक छ,” उनले भने।
संघका पूर्व अध्यक्ष विजय डालमियाँ र वडाध्यक्ष प्रह्लादमणि ओलीले पनि उद्योगको संरक्षण र प्रवर्द्धनमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे। डालमियाँले हतारमा समाचार सम्प्रेषण गर्नुका सन्दर्भमा सावधानी अपनाउन पत्रकार समुदायलाई सुझाव दिए।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव दिनेश शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए।