Aamsanchar

IPL : लखनउको विजयी यात्रा, मुम्बइको संघर्ष जारी

Author Image
शनिवार, चैत २३, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा लखनउ सुपर जायन्ट्सले आफ्नो दोस्रो जित दर्ता गर्दै प्लेअफ होडलाई जीवित राखेको छ। शुक्रबार लखनउको घरेलु मैदानमा सम्पन्न खेलमा उनले मुम्बइ इन्डियन्सलाई १२ रनले पराजित गरे।

टस जितेर पहिला फिल्डिङ रोजेको मुम्बइले लखनउलाई ब्याटिङको मौका दिएको थियो, जसको भरपुर फाइदा उठाउँदै लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०३ रनको बलियो योगफल तयार गर्‍यो। ओपनर मिचेल मार्सले ६० रन बनाउँदै इनिङ्सलाई बलियो सुरुवात दिए भने एडेन मक्रमले ५३ रनको योगदान दिए।

मुम्बइका कप्तान हार्दिक पाण्ड्याले व्यक्तिगत रुपमा शानदार प्रदर्शन गर्दै ५ विकेट लिए। तर उनको यो प्रयास टिमलाई जितसम्म पुर्‍याउन काफी भएन। २०४ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको मुम्बइ २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रनमै सीमित रह्यो।

सूर्य कुमार यादवले ६७ रन बनाएर टिमलाई सम्हाल्ने कोसिस गरे। ४३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै उनले मुम्बइलाई जितको नजिक त लगे, तर अन्तिम ओभरहरूमा आवश्यक रन नबनाउँदा जित टाढा रह्यो। नमन धिरले पनि ४६ रन बनाए, तर अन्य ब्याट्सम्यानले अपेक्षित साथ दिन सकेनन्।

यो जितसँगै लखनउले चार खेलमा दुई जित र दुई हारसँगै ४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। अर्कोतर्फ मुम्बइको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ—चार खेलमध्ये केवल एक जित हात पार्दै उनीहरू २ अंकसहित सातौँ स्थानमा छन्।

आजका खेलहरू
शनिबार दुई रोमाञ्चक खेल हुँदैछन्। दिउँसो पौने ४ बजे चेन्नइ सुपर किंग्स र दिल्ली क्यापिटल्स आमने(सामने हुनेछन् भने राति पौने ८ बजे पञ्जाब किंग्स र राजस्थान रोयल्स भिड्नेछन्। दुवै खेलले तालिकामा ठूलो फेरबदल ल्याउने सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर