




विराटनगर – मोरङमा दुर्घटनामा परेर एक दम्पतीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।


दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१ कल्याणपुरका सोम टुडू र पछाडि सवार उनकै श्रीमती वामनी हेमरामको मृत्यु भएको लम्सालले बताए । उनका अनुसार राति १०:१० बजेतिर आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दम्पतीलाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएका थिए ।

उनीहरुको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखेर इलाका प्रहरी कार्यालय सिजुवाले घटनाको अनुसन्धान थालेको छ। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट यकिन भएको इन्स्पेक्टर लम्सालले बताए ।

