Aamsanchar

कचनकवल गाउँपालिकामा शिक्षकको तलब–भत्ता सोझै खातामा पठाउने नयाँ प्रणाली सुरु

Author Image
शनिवार, चैत २३, २०८१

झापा ।  कचनकवल गाउँपालिकाले शिक्षकहरूको मासिक तलब र भत्ता सीधै व्यक्तिगत बैंक खातामा पठाउने प्रणालीको पहिलो चरण सुरु गरेको छ। पारदर्शिता, सेवा सहजता र उत्तरदायी प्रशासन निर्माणका लागि गरिएको यो पहल लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा परीक्षण गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलका अनुसार, परीक्षण सफल भएको छ भने सञ्चय कोष र नागरिक लगानी कोषसँग सम्बन्धित कोड म्यापिङ प्रक्रियामा केही प्राविधिक जटिलता देखिएको छ।

हाल विद्यालयको सञ्चय कोष तथा लगानी कोषमार्फत हुने कट्टीसमेत शिक्षकको खातामा पठाउने प्रक्रिया परीक्षणको अन्तिम चरणमा पुगेको र सफल परीक्षणपछि सम्पूर्ण पालिकाभित्रका विद्यालयमा प्रणाली लागू गरिने पोख्रेलले जानकारी दिए।

यसका लागि सबै शिक्षकलाई आफ्नो केवाइसी (KYC) विवरण अद्यावधिक गर्न आग्रह गरिएको छ। एक हप्ताभित्र अद्यावधिक नगर्ने शिक्षकहरूले बिर्तामोडस्थित सञ्चय कोष शाखामा सम्पर्क गर्नुपर्ने छ।

विद्यालयहरूलाई आफ्ना शिक्षकहरूलाई जानकारी गराई प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरिएको छ।

यस प्रणालीबाट लेखापरीक्षण प्रक्रिया सरल हुने, आर्थिक पारदर्शिता बढ्ने र प्रशासनिक खर्चमा समेत कटौती हुने विश्वास गरिएको छ। कचनकवल झापामा यस्तो प्रणाली लागू गर्ने पहिलो गाउँपालिका बनेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर