




ताप्लेजुङ- ताप्लेजुङको सुकेटारमा छैटौँ वज्रगुरु मन्त्रजप पूजा सुरु भएको छ । विश्व शान्तिको कामना गर्दै तथा मानव एकताका लागि आयोजना गरिएको तीनदिने धार्मिक पूजा वज्रगुरु मन्त्रजप शनिबारदेखि सुरु भएको हो । पूजा बौद्ध धर्म संस्कारमा आधारित रहेको छ, गरिँदै आएको छ । भारतका प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा बृहत् धार्मिक पूजा वज्रगुरु मन्त्रजप सुरु भएको वज्रगुरु मन्त्रजप मूल आयोजक समितिका सचिव पासाङरिता शेर्पाले जानकारी दिनुभयो ।


शेर्पाका अनुसार प्रमुख लामा रिन्पोछेसहित अन्य लामाले पूजामा प्रवचन गर्दै आउनुभएको छ । सोमबारसम्म सञ्चालन हुने मन्त्रजपमा प्रमुख लामा रिन्पोछेबाट विषेश प्रवचनसँगै श्वेत ताराको आयु अभिषेक गर्नेलगायतका गतिविधि हुने छ । मन्त्रजपले मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ हुने र विघ्नबाधा समाप्त भई सुख शान्ति प्राप्त हुनुका साथै मनोकामना पूरा हुने विश्वास गर्ने गरिएको शेर्पाको भनाइ छ ।

तीनदिने वज्रगुरु मन्त्रजप पूजामा २० हजारभन्दा बढी भक्तजनको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । पूजामा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लाका भक्तजनको सहभागिता रहेको छ । यस्तै भारतको सिक्किम र दार्जिलिङसमेतबाट भक्तजन मन्त्रजपमा आएका आयोजकले जनाएको छ । मन्त्रजपमा बौद्धबाहेक हिन्दु, किराँतलगायतका धर्ममा आस्था राख्ने भक्तजनसमेत सहभागी हुने गरेका छन् । विसं २०७३ बाट सुरु भएको पूजा कार्यक्रम कोभिड महामारीको समयमा तीन वर्षसम्म स्थगित भएको थियो । महामारीको अन्त्यपछि भने प्रत्येक वर्ष मन्त्रजप आयोजना गरिँदै आएको छ ।

