


फायल तस्बिर




जनकपुरधाम – सीताको जन्मभूमि नगरी जनकपुरधाममा रामनवमी पर्व आइतबार धूमधामका साथ मनाइँदै छ। भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिमा भएको स्मरणमा यस दिन रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ।

जनकपुरधाममा रामनवमीको अवसरमा हिजोदेखि नै भारतको विभिन्न सहर एवं ग्रामीण भेगबाट र नेपालको विभिन्न शहर एवं ग्रामीण भेगबाट हजारौं श्रद्धालु भक्तजनासहित साधुसन्त सहभागी हुन्नको लागि आउने जारी नै छ।


मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ। रामको प्रेमभूमि र ससुराली र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उल्लेख्य छ।
सो परिसरमा श्रद्धालुद्वारा भजन, कीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले महोत्सव रामको वास्तविक जन्मोत्सवझैं अनुभूति भइरहेको छ।
त्रेतायुगमा चैतशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख छ। सोही दिनलाई रामनवमी भनिन्छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औँ पुस्ताका मानिन्छन्। ‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हो।
विद्वान्हरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ, त्यसैबाट उहाँको नाम राम भएको ग्रन्थमा उल्लेख छ।
राम परब्रह्मा, परम तप र परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेको पाइन्छ। महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा अधिक शहरको नाम पत्ता लागेको जानकी मन्दिरका महन्त रामतपेअश्वर दास वैष्वले बताए।
धार्मिक ग्र्रन्थमा शिवको रामभक्ति तथा हनुमान– नारद– अत्रि– अनुसूया– भरत– शवरी आदिको रामभक्ति एवं उपासना अद्वितीय भएको उल्लेख छ। कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन्। जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन छ।
विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भन्ने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणास्रोत मानिन्छ। आज पनि सुशासन, सुव्यवस्था आदि लोककल्याण्कारी आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको जानकारहरु बताउँछन्।
देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई नै सम्झिने गरिएको छ।
रामको जन्मोत्सवको अवसरमा विधिवत् पूजा अर्चना गरिने र साँझमा बधाई गानसहित झाँकी र गीतनाद हुने राम मन्दिरका महन्त गिरीले बताए।
कुर्था जनकपुर–जयनगर रुटमा नेपाल रेल्वे सञ्चालन भएका कारण पनि श्रद्धालु भक्तजनहरू ठुलो सङ्ख्यामा जानकी मन्दिर र राम मन्दिरमा दर्शन गर्नको लागी वृद्धि भएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष दिपेन्द्र साह बताए।
शोभायात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रममा धार्मिक मर्यादा कायम राख्नका लागि सबैलाई शान्ति, सुव्यवस्था र धार्मिक सौहार्द कायम राख्न प्रतिबद्ध रहनुपर्छ वडा अध्यक्ष साहले विचार व्यक्त गरे।