Aamsanchar

ताशकन्दमा सभामुख घिमिरेको सम्बोधन : “नेपालको समावेशी लोकतन्त्र विश्वका लागि प्रेरणा”

Author Image
आइतवार, चैत २४, २०८१

ताशकन्द (उज्बेकिस्तान) । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण राजनीतिक रुपान्तरणको यात्रा विश्वका लागि प्रेरणादायी भएको बताएका छन्।

उज्बेकिस्तानको राजधानी ताशकन्दमा आयोजित अन्तर-व्यवस्थापिका संघ (आईपीयू) को १५०औँ सभालाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक समझदारी र समावेशी संवादमार्फत अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मको यात्रा सफलतापूर्वक पूरा गरेको उल्लेख गरे।

सभामुख घिमिरेले नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको सुनिश्चितता गरेको भन्दै राष्ट्रका प्रमुख पदहरूमा लैंगिक र जातीय समावेशिता सुनिश्चित गरिएको तथ्य प्रस्तुत गरे। उनले राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट अनिवार्य रूपमा चयन गरिनुपर्ने संवैधानिक व्यवस्था तथा संसदका दुवै सदनको नेतृत्व फरक लिङ्ग वा दलबाट हुनु नेपालको समावेशी अभ्यासको उदाहरण भएको बताए।

संसद सामाजिक परिवर्तनको प्रमुख माध्यम

“सामाजिक विकास र न्यायका लागि संसदीय कार्य” विषयक सत्रमा धारणा राख्दै सभामुख घिमिरेले संसद नीति निर्माण, बजेट विनियोजन, कानुन निर्माण र कार्यान्वयनको निगरानीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यम भएको उल्लेख गरे।

उनले महिला, युवा, आदिवासी, जनजाति र पछाडि पारिएका वर्गहरूको संसदमा सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नु र संसदीय प्रक्रियामा पारदर्शिता बढाउनु नेपालको प्रमुख लोकतान्त्रिक उपलब्धि भएको बताए।

जलवायु परिवर्तन र सगरमाथा संवाद

सभामुखले जलवायु परिवर्तनलाई नेपालको लागि सबैभन्दा गम्भीर चुनौतीको रूपमा उल्लेख गरे। उनले हरेक वर्ष हजारौं नागरिक प्राकृतिक विपत्तिबाट प्रभावित भइरहेको जनाउँदै जलवायु न्यायका लागि हरित ऊर्जा प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यमा नेपालको सक्रिय भूमिका स्मरण गराए।

उनले आगामी मे १६–१८ मा नेपालमा आयोजना हुने “सगरमाथा संवाद” को जानकारी दिंदै पर्वतीय क्षेत्रहरूमा जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय बहस अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।

समावेशी विश्व निर्माणमा नेपालको योगदान

“लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका आदर्शहरूलाई आत्मसात् गर्दै साझा भविष्य निर्माणमा नेपाल अग्रसर छ,” भन्दै सभामुख घिमिरेले सबै संसदहरूलाई सामाजिक न्याय, दिगो विकास र सहकार्यमा योगदान दिन आह्वान गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर